राजविराज, ३२ जेष्ठ । सिंचाई मन्त्री उमेशकुमार यादवले सप्तरीको विकासकालागि रुपनी–गाइघाट सडक निर्माणसँगै राजविराज भन्सारको स्तरोन्नती आवश्यक रहेको बताएका छन् ।
उनले यस विषयमा अर्थमन्त्री समक्ष ध्यानाकर्षण गराउने समेत बताए । प्रेस सेन्टर नेपाल सप्तरीले मङ्गलवार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राजविराज विमानस्थल, अञ्चल अस्पताल र औद्योगिक क्षेत्र पनि सप्तरीको विकासको आयामका चीज हुन् भन्दै तीनकोलागि पनि पहल गर्न आफू तत्पर रहेको बताए ।
आफु मन्त्री भएपछि सप्तरीमा हालसम्म २८ करोडभन्दा वढि वजेट कार्यान्वयनको क्रममा रहेको उनले वताए । उनले भने ‘समृद्ध तराई मधेश सिंचाई विशेष कार्यक्रम सप्तरीलगायत तराईका ११ जिल्लामा लागु भएको छ, जुन अति प्रभावकारी शुरुवात हो ।’
मन्त्री यादवले जिल्लाको विकास निर्माणमा आफु सदैव तत्पर रहेको बताउँदै विकासीय गतिविधिमा कसैले पनि भोटको राजनिति गर्न नमिल्ने प्रष्ट्याए । सिंचाई कार्यालय र जल उत्पन्न प्रकोप गरी वर्षेनी ५÷६ करोडमा चित्त वुझाउँदै आएको सप्तरीले आफु मन्त्री भएपछि २८ करोडभन्दा वढि वजेट परिचालन गरी रहेको उनको भनाई थियो ।
प्राप्त वजेटको सदुपयोग भए सिंचाई क्षेत्रमा जिल्लाको मुहार फेर्न सकिने बताउँदै उनले यस वर्षको काम सहज रुपमा सम्पन्न भए आगामी आर्थिक वर्षमा १० गुणा वढि वजेट आउने विश्वास व्यक्त गरे । जिल्लाको विकासकालागि आफुले कतै पनि दलीय भागवण्डालाई प्रश्रय नदिएको भन्दै मन्त्री यादवले त्यस्तो पाईए आफु आत्मआलोचित हुन तयार रहेको बताए ।
सप्तरीमा सञ्चालित जनता आवास कार्यक्रम आफ्नो पार्टीबाट विजयी भएका क्षेत्र नम्वर १, २ र ३ मा गत वर्षदेखि नै नदिएको कारण आफ्ना साथीहरुले विरोध गरेको नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य समेत रहेका मन्त्री यादवले स्पष्ट पारे । कांग्रेस र एमालेले षडयन्त्र गरेर आफूहरुले विजय हासिल गरेको क्षेत्रमा जनता आवास कार्यक्रम नदिएको भन्दै उनको प्रश्न थियो ‘सप्तरी क्षेत्र नम्वर १, २ र ३ मा विपन्न दलित छैनन् कि एमाले कांग्रेस छैनन् ?’ प्रेस सेन्टर सप्तरीका अध्यक्ष राजु विश्वकर्माको अध्यक्षतामा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।