• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
समुदायमा लोकप्रिय बन्दै सुनौला हजार दिन

राजविराज, २९ जेठ । सप्तरीमा यस पटक नयाँ १५ वटा गाविसलाई लक्षित गरी सञ्चालन भएको सुनौला हजार दिन कार्यक्रममा सहभागीहरु उत्साहित देखिएका छन् ।
गर्भवती अवस्थादेखि दुई वर्षसम्मको बालबालिकासमेतलाई लक्षित गरी तीनका हेरालु समेतको सहभागितामा कार्यक्रम सञ्चालन गरिएपछि उनीहरु उत्साहित भएका हुन् । बच्चा गर्भमा रहेदेखि जन्मेको दुई वर्ष सम्मको अवधिलाई सुनौला हजार दिन मानेर कार्यक्रम सञ्चालनमा ल्याइएको कार्यक्रममा सहभागिता उत्साहजनक रहेको प्रशिक्षक बृजमान तामाङ्गले बताए ।
गर्भवती महिलाको स्वास्थ्य, पोषण, सरसफाई, खोप, सुरक्षित पानीको प्रयोग, धुवाँबाट बँच्ने उपाय, खुला दिसामुक्त, हात धुने लगायतका बारेमा कार्यक्रममा जानकारी दिईने गरेको बताउँदै उनले भने ‘गर्भवती, सुत्केरी र शिशुलाई दुई वर्षसम्म कसरी स्याहार सुसार र खानपान गराउने भन्ने विषयमा बृहत जानकारी दिइनाले उनीहरुमा रुची जागेको हो ।’
यस्तै अनुभव सुनाए कार्यक्रमका प्रशिक्षक डा. विनोद कुमार यादवले । समुदायका महिलाहरुमा जनचेतनाको अभाव रहेको भन्दै ग्रामिण महिलाहरुलाई सहजिकरण गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै उनले भने ‘यो कार्यक्रम ग्रामिण एवम् विपन्न वर्गकालागि अति आवश्यक रहेकोले यसलाई प्रभावकारी रुपमा सञ्चालन गरिए समुदायमा व्यापक परिवर्तन आउने निश्चित छ ।’
विगतमा समेत यो कार्यक्रम लागु भए पनि प्रभावकारी र पारदर्शी रुपमा सञ्चालन नभएको भन्दै लक्षित उपभोक्ताहरुले गुनासो गर्दैआएका थिए । बच्चाको शारीरिक र मानसिक विकासकालागि सुनौला हजार दिनको महत्वबारे कार्यक्रममा जानकारी पाएको लौनियाँ गाविस–२ की मालती देवी मण्डलले बताइन् । स्वास्थ बच्चाकालागि गर्भवती आमाको स्वास्थ्यमा समेत ध्यान दिनु पर्दो रहेछ, उनले भनिन् ‘कार्यक्रमले हामीहरुको आँखा खोलिदिएको छ, हामीलाई खुशी लागेको छ ।’
सुनौला हजार दिन कार्यक्रमका संयोजक रमेश कुमार यादवका अनुसार यस अघि जिल्लाको लौनियाँ, हरिपुर, इनर्वा फुलवरिया, गम्हरिया प्रवाहा, पोर्ताहा, भारदह, मधवापुर, मल्हनियाँ, पटेर्वा, पकरी र देउरीभरुवा गाविसमा कार्यक्रम सञ्चालन भईरहेको छ भने डाढा र बसबिट्टीमा कार्यक्रम सम्पन्न भईसकेको छ । समुदायको माग अनुसार समुदायमा सञ्चालित यो कार्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गरिने नमूना कार्यक्रमको रुपमा सञ्चालन गर्न आफू प्रयासरत रहेको उनले जानकारी दिए ।