• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

आइजीपी अर्यालको गाउँमा डकैती गर्ने ६ कुख्यात डाका पक्राउ

आइजीपी अर्यालको गाउँमा डकैती गर्ने ६ कुख्यात डाका पक्राउ

राम नारायण पंडित
सिरहा, २७ जेठ । प्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्यालको गाउँ जिवामा डकैती गर्ने ६ जना डकैतलाई सिरहा प्रहरीले पत्रकार सम्मेलन गरि सार्बजनिक गरेको छ ।
मिर्चैया नगरपालिका ७ जीवामा जेठ १ गते राती करीब १ बजे भएको डकैतीको घटनामा संलग्न कुख्यात ६ जना डाँकाहरुलाई प्रहरीले पक्राउ गरी विहीवार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाही नेत्रगञ्ज २ का ५५ वर्षीय रुकुम पासवान, धनुषा ठाडी झिझा–१ का विनय कुमार पासवान, सर्लाही हरिवन २ का नन्दकिशोर पासवान, सिरहाको लड्कनाहा १ का रामशरण रौपाल, कर्जनाहा १ का वीरेन्द्र पासवान र सोही स्थानका संगीता पासवान रहेका छन् । उनीहरुको साथबाट एसर कम्पनीको ल्यापटप १ थान, नोकिया कम्पनीको मोबाइल १ थान, कालो रङको टेप १ थान, घटनामा प्रयोग भएको बन्चरो १ थान, छिनो १ थान, काचो लाठी २ थान, ह्याण्ड ब्याग १ थान, बैंकका काजजातहरु लगायतका सामानहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक श्याम ज्ञावालीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
जीवामा भएको डकैतीको घटनाको मुख्य अभियुक्त सञ्जीव पासवान रहेको र उनकै सहयोगमा झिंझाका रुकुम पासमानले डकैतीको योजना बनाएको एसपी ज्ञवालीले बताए । लुटपाटमा संलग्नमध्ये अन्य अभियुक्तहरु अझैं फरार रहेकाले उनीहरु नेपालकै अन्य जिल्ला तथा भारतमा समेत लुकेर बस्न सक्ने भएकाले भारतीय प्रहरीसँग समन्वय गरेर खोजी भइरहेको उनले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकामध्ये रुकुम पासवान र विनय पासवानको घटनामा प्रत्यक्ष संलग्नता रहेको पाइएको छ भन्ने नन्दकिशोर पासवान, वीरेन्द्र पासवान र सङ्गीता पासवानको मोबाइलको प्रयोग भएको छ । लुटपाटमा पेसेवर अपराधीकै संलग्नता रहेको तथ्य अनुसन्धानबाट प्राप्त भएकोले घटनाबारे थप अनुसन्धान जारी रहेको उनले बताए ।
करीब १५ जनाको समूहमा आएका नाकावधारी डाँकाको समूहले बम विस्फोट गर्दै मिर्चैया नगरपालिका ७ जिवाका राजाराम यादव, रामेश्वर यादव र प्रकाश तिबारीको घरबाट गरी लाखौको धनमाल लुटेर लगेका थिए । डाँकाहरुले नगद, सुनचाँदीका गरगहना, मोबाइल, ल्यापटप, र अन्य जिन्सी सामान लुटेर लगेको थियो । डाँकाको प्रतिकार गर्दा राजाराम यादबको बहीनी अन्दाजी ३५ बर्षीय ललितादेवी यादव घाइते भएकी थिईन् । प्रहरी प्रधान कार्यालय केन्द्रीय अपराध अनुसन्धान ब्युरो, पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय मिर्चैयाको संयुक्त टोलीले गरेको अनुसन्धान पछि डकैतीमा संलग्नहरुलाई पक्राउ गर्न सफल भएको छ ।