श्यामसुन्दर यादव
राजविराज, २७ जेठ । भारत बिहारका पूर्व–मुख्यमन्त्री जितनराम माझी सप्तरीको कटैया गाविस स्थित दीनारामभद्री स्थल आउने पक्कापक्की भएपछि त्यसक्षेत्रका वासिन्दाहरु एकसातादेखि स्वागतको तयारीमा जुटेका थिए । त्यसक्षेत्रका वासिन्दाले गाउँटोलमा चन्दा संकलन गरेर पूर्व मुख्यमन्त्री माझीको स्वागतकालागि स्वागतद्वार, मञ्च व्यवस्थापनलगायतका काम सिध्याएर बुधवार विहानदेखि उनको प्रतिक्षामा बसेका थिए । विहान ११ बजे विहार माझी आउने भनेर उनीहरु सकालैदेखि कटैया स्थित दीनाभद्री मन्दिर प्राङ्गणमा बालबच्चासहित साँझ साढे पाँच बजेसम्म प्रतिक्षामा बसिरहे । तर अचानक माझी नआउने भनी फोन आएपछि स्थानीय वासिन्दाहरु आकासबाट खसे झैं भए । 
विकट गाउँ देहातका वासिन्दाहरुले भोक–प्यास विर्सेर पूर्व मुख्य मन्त्रीको स्वागतमा रहेका तथा नेपाल र भारतका विभिन्न जिल्लाबाट मन्त्रीलाई हेर्न आएका सर्वसाधारण जनता इन्तु न चिन्तु भए । आयोजकमध्येका कतिपय उनीमाथि आक्रोश व्यक्त गरिरहेका थिए भने बाहिरबाट ट्रयाक्टर भाडा लिएर आएका सर्वसाधारण निरास भएर फर्किन बाध्य भए ।
दिनभरी भोकै बसेर पूर्व मुख्य मन्त्रीको आशमा बसेको र साँझ मात्र वहाँको कार्यक्रम स्थगन भएको आम मूल निवासी मुक्ति मोर्चाका अध्यक्ष मो. ईस्लाम र राजकुमार मण्डलबाट थाहा पाएपछि निरास भएर घर फर्किन लागेको धनुषाको सोहनी सिनुरजोडा–७ का शिवशंकर सदाले बताए । पूर्व मुख्य मन्त्री माझीकालागि निर्माण गरिएको मञ्च देखाउँदै दीनाराम भद्री सेवा समितिका अध्यक्ष मीठु माझीले भने ‘एक सातादेखि हामी स्वागतद्वार र मञ्च निर्माण गरी बाटो कुरेर बसेका थियौं तर वहाँ आउनु भएन ।’ मन्दिरको अवस्था तथा दीनाराम भद्री दाजुभाइ मारिएको, राखिएको र अन्तिम संस्कार गरिएको ठाउँको दृष्यावलोकन गराउने सोच राखेकोमा अनायास साँझतिर वहाँ नआउने खबरले आफूहरु मर्माहत भएको उनले बताए ।
कटैया आउने कार्यक्रम निश्चित भएपछि मात्र आफूहरु तयारीमा जुटेको जानकारी दिँदै दीनाराम भद्री पर्यटन विकास समितिका अध्यक्ष दयानन्द प्रमाणीले भने ‘पूर्व मुख्यमन्त्री रहीसक्नु भएका माझीले हामीहरुको भावनामा चोट पुर्याएको छ, वहाँ कटैया आएर यहाँका जनतासँग माफी माग्नुपर्छ ।’ जिल्लाको नेंगडा बैरिया गाविस स्थित जोगियाँ जाँजर आएर कटैयाको छेवैको बाटो भई भारत विहारतर्फ लागे पनि यहाँ नआउँदा हृदयदेखि दुःख लागेको दीनाराम भद्री सेवा समितिका उपाध्यक्ष हरिशंकर ईशरले बताए ।
‘राष्ट्रिय मुसहर उत्थान समाज नेपाल’को प्रथम महाधिवेशनमा प्रमुख अतिथिको रुपमा सहभागी हुन उनी मङ्गलवार जनकपुर आएका थिए । प्रथम महाधिवेशनमा नेपालका ३२ जिल्लाका मुसहर समुदायको सहभागिता रहेको थियो । पूर्व–मुख्यमन्त्री माझी भीठामोड सडकको प्रयोग गर्दै स्थलमार्गबाट कार्यक्रममा सहभागी हुन जनकपुर आएका थिए । महाधिवेशनमा सहभागी भई मुसहर समुदायको सवरी कुट्टी, सप्तरीको कटैया स्थित विभिन्न स्थलहरुको अवलोकन गर्ने कार्यक्रम रहेको थियो । यद्यपी उनी जनकपुरको महाधिवेशनमा सहभागी भई सिरहाको लहानमा खाना खाएर सप्तरीको जोगिया–जाँजर स्थित दीनाभद्रीको जन्मस्थान पुगेर रुपनी, राजविराज हुँदै कुनौलीको बाटो भएर भारतको पटना प्रस्थान गरेका छन् ।
