राजविराज, २६ जेठ । नयाँ शक्ति नेपालका सप्तरी संयोजक एवं केन्द्रीय परिषद् सदस्य अरुण कुमार साहलाई प्रहरीले पक्राउ गरी जेल चलान गरेको विरोधमा मङ्गलवार राजविराजमा प्रदर्शन गरिएको छ ।
नयाँ शक्तिका केन्द्रीय परिषद् सदस्य छेदी रजक(बिमल)को नेतृत्वमा शिव मन्दिर प्राङ्गणबाट निकालिएको विरोध रयाली अदालत रोड, रुपनी बस स्टेण्ड हुँदै दशन चौकमा पुगी कोणसभामा परिणत भएको थियो । नयाँ शक्ति नेपालका केन्द्रीय सचिवालय सदस्य रामरिझन यादवले एमाओवादीका केन्द्रीय नेता समेत रहेका गृहमन्त्री शक्ति बस्नेतले आफ्नो खुट्टामा आफै बञ्चरो हान्ने काम गरेको बताए ।
साहलाई जनयुद्धकालीन मुद्दामा नाटकीय ढङ्गले प्रपञ्च रची गृहमन्त्री बस्नेतको निर्देशनमा नयाँ शक्तिको आसन्न राष्ट्रिय भेला तथा पार्टी घोषणा सभालाई भाँड्न माओवादीको डिजाइन तहत पक्राउ गरी जेल चलान गरिएको प्रमुख अतिथि यादवको आरोप थियो । जनयुद्धकालमै मुद्दा लागेका प्रचण्डको पनि १० वटा मुद्दा, बाबुराम भट्टराईलाई पनि मुद्दा र बादललाई पनि मुद्दा रहेकोमा उनीहरुलाई कुनै सजाय नहुने तर नयाँ शक्ति नेपालको जोशिला नेतालाई कैद गरेपछि पार्टी कमजोर गर्नकालागि गृहमन्त्री बस्नेतले यो चाल चलेको उनले आरोप लगाए ।
सभामा केन्द्रीय परिषद् सदस्य छेदी रजक (बिमल)ले एमाओवादीका अध्यक्ष प्रचण्डदेखि शक्ति बस्नेतसम्म युवा नेता अरुणबाट डराएर फर्जी कागजातको आधारमा फँसाएको बताए । केन्द्रीय सदस्य जनजीवन राम, चन्द्रदेव मण्डल, आमन्त्रित सचिवालय सदस्य लक्ष्मी चौधरी, केन्द्रीय परिषद् सदस्य सूर्य नारायण मण्डल (कुरुड) क्षेत्र नं. ४ का संयोजक शेर सिंह, क्षेत्र नं. ६ का संयोजक देव प्रसाद पाल, क्षेत्र नं. ३ का संयोजक प्रेम नारायण यादव लगायतले मन्तव्य व्यक्त गरे ।