राजविराज, २४ जेठ । नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रीय परिषद्का सदस्य तथा सप्तरी संयोजक अरुण कुमार साह ‘अनिल’लाई स्थानीय प्रशासनले बलजर्वजस्ती गिरफ्तार गरी जेल चलान गरेकोप्रति उक्त सङ्गठनले गम्भीर आपत्ती जनाउँदै आक्रोश व्यक्त गरेका छन् ।
सङ्गठनको सचिवालयका नेताहरुले सोमवार पत्रकार सम्मेलन आयोजना गरी गिरफ्तारीप्रति कडा आपत्ति जनाएका हुन् । नेता साहलाई आइतवार राती करिब ८.३० बजेको समयमा ईलाका प्रहरी कार्यालय रुपनी र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले पक्राउ गरी जेल चलान गरेको छन् ।
द्वन्द्वकालीन मुद्दाको समाधानकोलागि सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन भईसकेको अवस्थामा फर्जी सही–छापको आधारमा झुठो मुद्दा लगाई गिरफ्तार गरेको भन्दै उक्त कार्यको नेताहरुले भत्र्सना गरेका छन् । गिरफ्तारीमा एकीकृत नेकपा माओवादीका नेता तथा गृहमन्त्री शक्ति बस्नेतको हात रहेको नयाँ शक्ति नेपालले दावी गरेको छ । सचिवालय सदस्य महेन्द्र पासवान र रामरिझन यादवले संयुक्त प्रेस विज्ञप्ति जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘जनयुद्धकालमा काँधमा काँध मिलाएर एउटै मुद्दाकालागि संघर्ष गरेका साथीसँग बैचारिक मतभिन्नता हुने वितिकै द्वन्द्वकालीन मुद्दाको आधारमा आफ्नै मातहतमा गिरफ्तारी गर्न लगाउनु नैतिक हिनताले पराकाष्ठा नाँघेको हामीले ठहर गरेका छौ ।’
द्वन्द्वकालीन मुद्दाको कारण गरिएको गिरफ्तारीको विरुद्धमा जेठ २५ गते नयाँ शक्ति नेपाल सप्तरीले राजविराजमा स्थानीय प्रशासनको विरुद्धमा शान्तिपूर्ण प्रदर्शन गर्ने समेत जनाईएको छ । संयुक्त प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ ‘यस्ताखाले मुद्दामा अबदेखि हाम्रो कुनै सदस्यलाई गिरफ्तार गरेमा त्यसको परिणाम प्रतित्वोपादक हुने चेतावनी दिन चाहन्छौ, तसर्थ अनाहक रुपमा गिरफतार गरि जेल पठाइएका सप्तरी संयोजक अरुण कुमार साह ‘अनिल’लाई अविलम्व रिहा गर्न माँग गर्दछौ
।’