• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

रयालीमा शोभा बढाउन स्कूले बालबालिकाको प्रयोग

रयालीमा शोभा बढाउन स्कूले बालबालिकाको प्रयोग

राजविराज, २३ जेठ । वर्षभरिमा विभिन्न दिवसहरु आउने गर्छन् । तीमध्ये अधिकांस दिवसहरु नामकालागि मात्र मनाउने गरिन्छन् । जिल्लास्तरमा आयोजना हुने दिवसहरुमा सरोकारवालाहरुको सहभागिता खासै देखिंदैन ।
विद्यालयका बालबालिकाहरुलाई व्यानर थमाउन लगाएर जुलुसमा सहभागी गराईन्छ । घरबाट विद्यार्थीहरु पढ्नकालागि जान्छन् तर विद्यालयले विद्यार्थीहरुलाई र्यालीमा सहभागी गराउने गरिएको छ । वर्षभरिमा १९ ओटा राष्ट्रिय दिवस मनाईने गरिन्छ । ती दिवसहरुमा विद्यार्थीहरुलाई सहभागी गराउने गरिएका कारण दिनभरिको पढाई नै प्रभावित हुने गरेको छ । राजनीतिक दलहरुले जुलुसमा स्कूले बालबालिकाहरुको प्रयोगलाई बन्देज लगाए पनि अन्य निकायले भने यसलाई तिब्रता दिएको छ ।
पछिल्लो पटक आइतवार विश्व वातावरण दिवसमा समेत यस्तै दृष्य देखियो । ’हाम्रो जीवजन्तु हाम्रो वातावरण र वन संरक्षण गरौं लगाई तन, मन र धन’ भने नाराका साथ आयोजित र्यालीमा सरोकारवालाहरुको सहभागिता नगण्य देखिए पनि स्थानीय विद्यालयका बालबालिकाहरुको सहभागिता भने व्यापक थियो । हेर्दाखेरि स्कुले बालबालिकाको कार्यक्रम जस्तो देखिन्थ्यो । तर जिल्ला भू–संरक्षण कार्यालय, जिल्ला कृषि विकास कार्यालय र जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय आयोजक रहेको उक्त कार्यक्रममा आयोजक कार्यालयका प्रमुखहरुको समेत अत्तोपत्तो थिएन । ब्यानर समात्नेहरु पनि बालबालिका नै थिए । वन कार्यालयबाट निकालिएको र्यालीमा वन अधिकृत धीरेन्द्र सिंह र सोही कार्यालयका मात्र दुई तीन जना कर्मचारीहरु थिए । सडक छेउमा उभिएका सर्वसाधारणले कानेखुशी गरिरहेका थिए कार्यक्रममा आयोजक कार्यालयका कर्मचारीहरु खोइ त ? आयोजक कार्यालयका कर्मचारीहरु मात्र कार्यक्रममा उपस्थित भईदिएको भए सय भन्दा बढी हुन्थे ।
यसैगरी केही साता अघिमात्र मात्र राष्ट्रिय खेलकुद परिषद्का सचिव केशव विष्ट राजविराज स्थित जिल्ला खेलकुद परिषद्मा आयोजित योग प्रशिक्षणको समापन कार्यक्रममा सहभागी हुन विहान ८ बजे आउने कार्यक्रम थियो । उक्त कार्यक्रममा उनको स्वागतकालागि विहान सात बजेदेखि छात्रछात्राहरुलाई लाइनमा उभ्याईएको थियो ।
प्रमुख अतिथि विष्टको प्रतिक्षामा बालबालिकाहरुलाई करिब तीन घण्टासम्म हातमा फूल लिएर उभिनुपरेको थियो । चर्को घाममा उभिएका बालबालिकाहरु टाउँकाको पसिना पुछ्दै विद्यालयका शिक्षकको आदेशमा उभिनुपरेको थियो । प्रमुख अतिथि विष्ट धरानबाट ढिलो हिँडेपछि कार्यक्रम ढिलो शुरु भएको थियो ।
यी त प्रतिनिधिमूलक दृष्टान्त मात्र हुन् । यसरी नै विद्यालयका बालबालिकाहरुलाई अनावश्यक रुपमा विभिन्न र्याली एवम् स्वागतकालागि पठाईने कार्य गैरजिम्मेवारपूर्ण भएको सचेत अभिभावकहरुको भनाई छ । कुन कार्यक्रम हो ? बालबालिकाहरुलाई सहभागी गराउनु उपयुक्त हो वा होइन ? अवस्था र परिस्थितिलाई गम्भीरतापूर्वक लिनुपर्ने वुद्धिजिवीहरुको तर्क छ ।
किताव कापी बोकेर विद्यालय पढ्न हिँड्ेका बालबालिकाहरुलाई विद्यालयले विभिन्न दिवसका अवसरमा आयोजना हुने र्यालीहरुमा सहभागी गराईनु आपत्तिजनक रहेको राजविराज–६ कि मीरा भट्टराईले बताईन् । राजनीतिक दलले जुलुसमा सहभागी गराउँदा व्यापक विरोध भएपछि हाल यो क्रम रोकिए पनि अन्य निकायले बालबालिकाहरुको प्रयोगलाई बढावा दिईरहेकोले सरोकारवालाको ध्यानाकर्षण हुनुपर्ने उनको भनाई छ ।
लामो बन्द हड्तालका कारण बालबालिकाहरुको पठन–पाठन प्रभावित भएको अवस्थामा अनाहक रुपमा विद्यार्थीलाई लामो समयसम्म अतिथि सत्कारको नाममा र विभिन्न र्यालीहरुमा सहभागी गराउने कार्यलाई तत्काल रोक्नुपर्ने नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्सालीले बताए । विद्यार्थीहरुको पढाईको स्तर समेत खस्किदै गएको अवस्थामा नियमित पठन–पाठनलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ ।