राजविराज, २२ जेठ । नेकपा माओवादीका पोलिट व्युरो सदस्य समेत रहेका सप्तरी क्षेत्र नम्बर २ का सांसद अशोक कुमार मण्डल ‘अमर’ले पत्रकार र पत्रकारिताको विकास गर्न राज्यपक्ष गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् ।
सप्तरीको हनुमाननगर नगरपालिकामा आईडिया नेपालले सञ्चालन गरेको ५ दिने आधारभूत पत्रकारिता तालिमलाई शनिवार उद्घाटन गर्दे सांसद मंडलले पत्रकार राज्यको विकासमा अहम भुमिका निभाएको भन्दै पत्रकारिताको संरक्षणमा राज्यले लगानी गर्नु पर्ने बताए । देशमा एक गाउँ र एक पत्रकार हुनुपर्ने बताउँदै ग्रामिण क्षेत्रमा पत्रकारिताको विकासका लागि आफु प्रयासरत रहने प्रतिबद्धता जनाए । मण्डलले पत्रकारिता क्षेत्रलाई सप्तरी जिल्लामा अझ सुदृढ बनाउन तथा पत्रकारको संख्या बढाउनका लागि प्रत्येक गाउँमा पत्रकारिता तालिमको आवश्यकता रहेको र यसको लागि सवै निर्वाचन क्षेत्रमा बजेटको व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याए ।
तालिमका प्रशिक्षक विनय कर्णले स्थानिय सरकारको बजेट भौतिक विकासमा बढी केन्द्रित भएकोले अब बौद्धिक विकासमा लगानी गर्नुपर्ने बताए । उनले पत्रकारिताको तालिमबाट वौद्धिक विकास हुनुका साथै समाजमा रहेका बेथितिहरु जनसमक्ष आउने विश्वास ब्यक्त गरे ।
आइडिया नेपालका अध्यक्ष निरज कुमार मण्डलको अध्यक्षतामा आयोजित पत्रकारीता तालिम उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका सचिव ओम प्रकाश शाह, चन्द्रमा एफएमका स्टेशन मैनेजर शैलेश कर्ण लगायतले पत्रकारिताको विकासबारे मन्तव्य व्यक्त गरे । जिल्ला विकास समिति सप्तरी, सांसद कोषको सहयोगमा सञ्चालित तालिममा २६ जनाको सहभागिता रहेको छ ।