हनुमाननगर, २२ जेठ । विभिन्न पार्टी परित्याग गरी शनिवार एक कार्यक्रम बीच सयौंको संख्यामा स्थानीय स्तरका नेता तथा कार्यकर्ताहरु सदभावना पार्टीमा प्रवेश गरेका छन् ।
सप्तरीको क्षेत्र २ नम्वर योगिनियाँ र मन्सापुर गाविसका कांग्रेस, एमाले, संघिय समाजवादी फोरम, नेपाल सदभावना पार्टी लगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु आ–आफ्ना पार्टी परित्याग गरी करिब पाँच सयको संख्यामा सदभावना पार्टीमा प्रवेश गरेको हो । पार्टी परित्याग गर्नेहरुमा सुनिल गोइत, अनिल कुमार गोइत, मृत्युञ्जय गोइत, नमोनारायण यादव, फुलेश्वर सदा सहित दुई सयको संख्यामा गाविस स्तरीय विभिन्न पार्टीका नेता तथा कार्यकर्ता रहेको सदभावना प्रेस मञ्चका अध्यक्ष शुभचन्द्र झाले जानकारी दिए ।
यस्तै जिल्लाकै मन्सापुरबाट करिब ३ सयको संख्यामा एमाले र कांग्रेस मधेश विरोधी रहेको भन्दै शनिवारै सदभावनामा पार्टीमा प्रवेश गरेको छ । पार्टी प्रवेश गर्नेहरुमा मन्सापुरका राधे मण्डल, रमेश मण्डल, बिश्नुदेव मण्डल, सूर्यनारायण मण्डल, रामेश्वर मण्डल, दिलिप प्रसाद साह, मुनेश्वर मण्डल, भोला मण्डल, संकरदेव खंग, बुचु झा, जुगेश्वर मण्डल लगायत रहेको उनले बताए । नवप्रवेशीहरुलाई क्षेत्र नम्वर २ का अध्यक्ष रामचन्द्र साहको अध्यक्षतामा भएको एक समारोहका बिच पार्टीका वरिष्ठ उपाध्यक्षद्वय मृगेन्द्र कुमार सिंह यादव, नवल किशोर साह, महासचिव मनिष कुमार सुमन, जिल्ला अध्यक्ष सुनिल कुमार झालगायतका नेताहरुले फूल, माला र अबीर लगाएर स्वागत गरे । सोही अवसरमा वरिष्ठ उपाध्यक्ष यादवले मधेशीको समस्या कसैको लागि बोझ नबनोस भने सदभावनाले चाहेको र जनताको विश्वासलाई सदभावनाले टुट्न नदिने जिकिर गरे ।