राजविराज, १४ जेष्ठ । सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य श्रीकृष्ण सुवेदीले सप्तरी स्थित स्थानीय शान्तिसमितिको कार्यालय निष्कृय रहेको भन्दै सहभागीहरुले ध्यानाकर्षण गराएका छन् ।
द्वन्द्वपीडितसँग शुक्रवार राजविराजमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले आयोगको ध्यानाकर्षण गराएका हुन् । द्वन्द्वपीडितहरुले शान्ति समितिको कार्यक्रम र आयोगको विषयमा आफुहरुले जानकारी नपाएको, द्वन्द्वपीडितका लागि आउने राहत तथा क्षतीपुर्तिबारे समितिले जानकारी नदिएको भन्दै गुनासो गरे ।
पीडितहरुको गुनासो सम्वोधन गर्दै सुवेदीले भने– यसैकारणले पीडितहरुको उजुरी पनि एकदम कम आएका छन् र उनीहरुले समयमा राहत पनि पाउन नसकेका हुन् ।’ अन्य जिल्लामा शान्ति समिति निक्कै सक्रिय भएकोले पीडितलाई राहत तथा क्षतीपुर्ति पनि चाँडै उपलब्ध भएको बताए । सुवेदीले सप्तरीमा पनि समितिलाई गाउँ गाउँसम्म सक्रिय वनाउनुपर्नेमा जोड दिए ।
नागरिक समाजका अगुवा अधिवक्ता पुण्य प्रसाद यादवले सप्तरीमा शान्ति समिति निस्कृय भएका कारण ६÷७ महिनादेखि वैठक समेत नबसेको बताए । उनले माओवादी द्वन्द्व काल जस्तै हालैको मधेश आन्दोलनमा पनि ब्यापक मानव अधिकार उलंघनका घटना भएकोले समितिको कार्यक्षेत्र वढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा अधिवक्ता तथा मानवअधिकारकर्मी सविता कोइराला, द्वन्द्वपीडित गेनालाल प्रमाणी, सरोजकुमार मिश्र, कृष्णप्रसाद सिंह, बलराम महतो, रामदेव यादव, वरिष्ठ पत्रकार शिवहरी प्रसाद भट्टराई लगायतले पनि द्वन्द्वपीडितहरुको समस्याका विषयमा मन्तव्य व्यक्त गरे ।