• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

अनुशासन उल्लंघन गरेको भन्दै शिक्षकद्वारा विद्यार्थी कुटिए

अनुशासन उल्लंघन गरेको भन्दै शिक्षकद्वारा विद्यार्थी कुटिए

राजविराज, ३० वैशाख । सप्तरी सदरमुकाम राजविराज स्थित ह्याप्पील्याण्ड वोर्डिङ्ग स्कुलमा अध्ययनरत एक विद्यार्थी अनुशासन उल्लंघन गरेको आरोपमा मङ्गलवार कुटिएका छन् ।
छात्रावासमा रहेर कक्षा १० मा अध्ययन गर्दैआएका १५ वर्षिय उमेशकुमार साह विद्यालयकै कम्प्युटर शिक्षक शैलेन्द्र कुमार ठाकुरद्वारा कुटिएका हुन् । विद्यालय सुरु हुनु अघि गराईने नियमित पिटी लाइनमा आफू भन्दा अगाडि आवश्यक्ता भन्दा बढी नै खाली ठाउँ देखेपछि ठाकुरले ठप्पड हान्न खोज्दा आफूले तत्कालै हात उठाएर रोक्न मात्र खोजेको उनले बताए । शिक्षक ठाकुरले लगातार विद्यार्थीहरुका बीच आफूलाई घाँटीमा समाएर गलहत्याउँदै लछार–पछार गर्दै मुक्काले हिर्काएको विद्यार्थी उमेशले गुनासो गरे ।
निर्घात कुटपिटपछि आफुले अभिभावकलाई बोलाई दिन आग्रह गर्दा समेत विद्यालय प्रशासनले वेवास्ता गरेको उनले वताए । छोरामाथि भएको कुटपिटको जानकारी पाएपछि आफु सुनसरीबाट आएर अस्पताल भर्ना गराएको पिता श्रीनारायण साह बताए । जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीमा कार्यरत रहेका उनी शिक्षकले छोरामाथि गरेको अमानवीय ब्यवहारको खवरपछि नुवाकोटमा क्लिनिक सञ्चालन गरेर वसेकी उनकी आमा गुलाब पनि राजविराज आईपुगेकी छिन् ।
आफ्ना छोरालाई कुटपीट गर्दा पनि आफूहरुले सहेको तर विद्यालयले मुख र पिठ्युँमा चोट रहँदा अस्पताल नलगेको गुलाबले गुनासो गरिन् । आफूहरु बाहिरै बस्ने गरेकोले एकमात्र उमेशलाई विद्यालयमै होस्टेलमा राखेर पढाईरहेको जानकारी दिँदै उनले भनिन् ‘कुट्नका लागि होइन, छोरालाई पढ्नकोलागि होस्टलमा राखेका हौं, प्रत्येक तीन महिनामा ४० हजार २ सय ५० रुपैया शुल्क वुझाउँदैआएका छौं । आफ्ना छोरालाई कुटपीट गर्ने शिक्षकलाई दण्डित गर्नुपर्ने उमेशका बा–आमाको भनाइ छ । यस विषयमा विद्यालयका प्रिन्सिपलसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।