• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

समृद्धीका लागि निजी लगानी आवश्यकः पूर्व अध्यक्ष ढकाल

समृद्धीका लागि निजी लगानी आवश्यकः पूर्व अध्यक्ष ढकाल

राजविराज, ३० वैशाख । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले स्थानीय श्रोतसाधनलाई उपयोग गर्दै कृषिलाई व्यवसायीकरणमुखि बनाई रोजगारीका अवसर सिर्जना गरेर देशलाई समृद्ध बनाउनुपर्ने बताएका छन् ।
‘नेपालमा वन श्रोत साधनको दिगो विकास योजना’ विषयक क्षेत्रीय तालिमको विहीबार राजविराजमा उद्घाटन गर्दै उनले यस्तो कुरा बताएका हुन् । नेपालीको क्रय शक्तिलाई अभिवृद्धि गर्नुपर्नेमा जोड दिँदै पूर्व अध्यक्ष ढकालले भने ‘स्थानीय श्रोतसाधनलाई उपयोग गर्दै कृषिलाई व्यवसायीकरण गरेर रोजगारीको अवसर श्रृजना गरे मात्र देश समृद्ध बन्न सक्छ ।

व्यवसायीहरुले ९० प्रतिशत विदेशी सामानहरु नै बिक्री गर्नुपर्ने बाध्यता रहेको बताउँदै उनले आत्मनिर्भरता बढाउन राज्यपक्ष गम्भीर गर्नुपर्नेमा जोड दिए । युवा जनशक्तिहरु वैदेशिक रोजगारीको नाममा विभिन्न देशमा कलकारखाना, पुल–पुलेसा, गगनचुम्बी भवनहरु बनाउनमा पसिना बगाउन बाध्य भएको बताउँदै उनले भने ‘नेपाल बनाउने श्रोत र शक्तिहरुको लास फिर्ता आइरहेको अवस्थाप्रति गम्भीर हुनु जरुरी छ ।’
पूर्वको सप्तरी, सिरहा, उदयपुर लगायतका जिल्लाहरुको विकास गर्नका लागि निजी क्षेत्रका व्यक्तिहरुले आत्मविश्वासका साथ लगानीकर्ताहरुले लगानी गर्नुपर्नेमा उनले जोड दिए । राजनीतिक पार्टी, साँसद्, नागरिक समाज समेतले प्रान्तको हैसियत अभिबृद्धि गर्ने कुरामा गम्भीर छलफल हुनु जरुरी रहेको उनले आवश्यकता औंल्याए । सप्तरीको राजविराज औद्योगिक क्षेत्र, विमानस्थल, सडकलगायत विषयवस्तुलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिँदै उनले भने ‘जिल्ला तथा प्रान्तको समृद्धिकालागि व्यापक छलफल गरी नयाँ सोच एवम् संकल्पका साथ घोषणापत्र जारी गरिए लगानीकर्ताहरु आकर्षित हुने निश्चित छ ।20160512_115420
महाभूकम्प तथा लामो नाकाबन्दीको मार खेपिरहेको अवस्थाको चर्चा गर्दै निजी लगानीलाई प्रोत्साहित गर्न उचित वातावरण बनाउन जनस्तरबाटै पहल हुनुपर्नेमा पूर्व अध्यक्ष ढकालले जोड दिए । छिन्नमस्ता भगवती, कोशी टप्पु वन्यजन्तु आरक्ष लगायतका पर्यटकीय स्थलहरुको प्रवद्र्धन हुनुपर्ने आवश्यकता औंल्याउँदै उनले भने ‘ सप्तरीमा समेत आँप, पेडा, केरालगायत कृषिजन्य उत्पादनमा आधारित उद्योगधन्दा स्थापना गर्न सक्ने प्रवल सम्भावना छ, त्यसैले यसतर्फ निजी लगानीलाई आकर्षित गर्नु आवश्यक छ ।’
कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष किशोर कुमार प्रधानले देशमा विभिन्न आन्दोलन, भूकम्प र नाकाबन्दीका कारण अर्थतन्त्र खस्किदै गएकोले आर्थिक समृद्धिकालागि सबैपक्ष गम्भीर हुनुपर्ने आवश्कता औंल्याएका छन् । पूर्वाञ्चलमा उद्योग व्यसायको प्रवल सम्भावना रहेको भन्दै वन श्रोत र कृषि क्षेत्रमा लगानी गरेर आर्थिक समृद्धितर्फ अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुणकुमार प्रधानले सप्तरी जिल्लामा आँप, पेडा, माछा, केरालगायत कृषिजन्य उत्पादनहरुलाई व्यवसायीकरण गर्नुपर्ने आवश्यकता औंल्याए । जिल्लामा सडक, राजविराज विमानस्थल, औद्योगिक क्षेत्र लगायतको अवस्थाबारे जानकारी दिए ।
निमित प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्याल, वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, पूर्वाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष टंक दुलाल, सप्तरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मनोज कुमार मुण्धडालगायतले मन्तव्य व्यक्त गरे । सप्तरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शंकर दासद्वारा सञ्चालित क्षेत्रीय तालिममा झापा, मोरङ्ग, ईलाम, पाँचथर, ताप्लेजुङ्ग, भोजपुर, संखुवासभा, धनकुट्टा, पाँचथर, खोटाङ्ग, ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुर, सिरहालगायतका जिल्लाका उद्योग वाणिज्य संघका पदाधिकारीहरुको सहभागिता रहेको छ । उक्त तालिम तीन दिनसम्म चल्ने सप्तरी उद्योग वाणिज्य संघले जनाएको छ ।