राजविराज, २९ वैशाख । नेपाल सरकारले वैशाख २६ गते ल्याएको नीति तथा कार्यक्रममा सञ्चार माध्यमलाई लक्षित हुने कुनै किसिमको कार्यक्रम नभएको भन्दै दैनिक पत्रिका राष्ट्रिय सञ्जालको ध्यानाकर्षण भएको छ ।
समानुपातिक विज्ञापन सहितको आमसञ्चार निर्देशिका नीतिमा नआएका कारण दैनिक पत्रिका राष्ट्रिय सञ्जालका अध्यक्ष जेपी गुप्ता ‘मायालु’ले प्रेस विज्ञप्तिमार्फत आपत्ति जनाएका हुन् । महाभूकम्प र नाकाबन्दीका कारण छापा लगायतका सबै सञ्चार माध्यमको अवस्था नाजुक भएकोले सरकारको तर्फबाट कुनै किसिमको राहतको कार्यक्रम नआएकोले सञ्जाल स्तब्ध भएको जनाएका छन् ।
नेपाल सरकारले ल्याएको नीति तथा कार्यक्रममा सञ्चार माध्यमलाई अपहेलित गरेको ठहर गर्दै सरकारको नीति तथा कार्यक्रममा लोककल्याणकारी विज्ञापनलाई दोब्बर नगरेकाले सञ्जालको आपत्ति रहेको छ । सरकारले सञ्चार माध्यमलाई श्रमजिवी पत्रकारको नाममा अनके झेलझाल गरेर सञ्चार माध्यममाथि बोझ थुपार्ने तर नीति तथा कार्यक्रममा कुनै किसिमको सहयोग नगरेकाले सञ्जालले आपत्ति जनाएको छ ।
आ.ब. २०७३÷०७४ को बजेट मार्फत सरकारको सबै विज्ञापनहरु एकद्वार प्रणालीमार्फत सबै पत्रपत्रिका र सञ्चारमाध्यमलाई उपलब्ध गराइयोस् र लोककल्याणकारी विज्ञापन दोब्बर गराइयसो भन्ने सञ्जालले आग्रह गरेको छ ।