वीरगंज, २८ वैशाख । संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार फेल भइसकेको हुनाले वार्ताको औचित्य नरहेको बताएका छन् ।
मधेसी पत्रकार समाज पर्साले होटल मकालुमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यादवले अबको आन्दोलन काठमाडौं केन्द्रित हुने र जारी मधेस आन्दोलन सफल नभएसम्म आन्दोलन नरोकिने बताए । सरकारले वार्ताको बिश्वास गुमाईसकेको र वार्ताको नाममा सरकारले नौटंकी मात्र गरिरहेको बताउदै मोर्चाले उठाएको माँगलाई नजर अन्दाज गरे सरकारले आउँदा दिनमा ठुलो क्षति व्यहोर्नुपर्ने चेतावनी दिए ।
वर्तमान केपी ओली नेतृत्वको सरकारले छिमके मुलुक एवं अन्य राष्ट्रहरुसँग व्ल्याकमेलीङ्गको काम गरिरहेको तथा बिदेशीहरुले नेपाललाई दिने सहयोग समेत कटौती गर्दै गइरहेको बताए । मधेस आन्दोलनको स्वरुप परिर्वतन भइसक्दा समेत आम नागरिकलाई अहिले पनि सहज रुपमा ग्याँस र पेट्रोल उपलब्ध नहुनाले वर्तमान सरकारले कालो बजारीयालाई प्रश्रय दिइ रहेको आरोप लगाए । संघीय महागठबन्धनका नेता समेत रहेका यादवले गठबन्धन वा मोर्चामा कुनै बिवाद नरहेको स्पष्ट पारे ।
जारी मधेस आन्दोलनले राष्ट्रिय रुप लिइ सकेको र अब काठमाडौंमा जेठ १ गते बाट हुने निर्णायक आन्दोलन सफल पार्न सवैलाई आग्रह समेत गरे । पत्रकार सम्मेलनमा संघीय समाजवादी फोरम नेपालका केन्द्रिय उपाध्यक्ष एवं सभासद लालबाबु राउत गद्दी, केन्द्रीय सदस्य बालकिसोर यादव, पर्सा जिल्ला अध्यक्ष प्रदिप यादव लगायतको सहभागिता रहेको थियो ।