• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

वर्तमान सरकार लुट मच्चाउने भ्रष्टहरुको जमातः अध्यक्ष भण्डारी

वर्तमान सरकार लुट मच्चाउने भ्रष्टहरुको जमातः अध्यक्ष भण्डारी

राजविराज, २८ वैशाख । राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष शरत सिंह भण्डारीले नश्लीय चिन्तनबाट ग्रसित वर्तमान सरकार देशमा सर्वसत्तावाद लाद्न खोजिरहेको बताएका छन् ।
जिल्ला पार्टी सप्तरीद्वारा मङ्गलवार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । वर्तमान सरकार लुट मच्चाउने भ्रष्टहरुको जमात भएको बताउँदै उनले भने ‘ नश्लीय चिन्तनबाट ग्रसित वर्तमान सरकार देशमा सर्वसत्तावाद लादेर जातीय राज्य सञ्चालन गरिरहेको छ, नेपालकै इतिहासमा योभन्दा निकृष्ट सरकार हालसम्म भएको थिएन् ।’
‘फुट डालो और राज करो’को नीति अख्तियार गरेको अवस्थामा सम्पूर्ण पहिचान र संघीयता पक्षधर शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिए । शोषित उत्पीडित समुदायले राज्यको नितीलाई परास्त गर्न एकजुट भएको प्रष्ट्याउँदै उनले भने ‘शोषित उत्पीडित जनताहरु हिटलर तानाशाही सर्वसत्तावाद राज्यसत्ता विरुद्ध पहिचान र स्वाभिमानको लडाईमा एकतावद्ध भईसकेको छ ।’
विगत सात महिनासम्म कठोर आन्दोलन गर्दा पनि राज्यले नसुनेको भन्दै अध्यक्ष भण्डारीले हिटलर वर्तमान सरकार तानाशाही भन्दा क्रुर रहेको बताए । शान्तिपूर्ण आन्दोलनमा अपार शक्ति हुने गरेकोले आफूहरु शान्तिपूर्ण आन्दोलनकै बाटो अख्तियार गरेको प्रष्ट्याउँदै उनले भने ‘लोकतन्त्र समेत खतरामा पर्ने अवस्था सिर्जना भएकोले निरंकुश एवम् तानाशाहीहरुको थलो मानिने सिंहदरवार केन्द्रीत आन्दोलनमा सम्पूर्ण शोषित तत्पीडित जनता उत्र्न लागेको छ ।’ सिंहदरबार केन्द्रित आन्दोलन मर्यादित एवम् शान्तिपूर्ण हुने समेत उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।
मित्रराष्ट्र भारतसँगको सामान्य कुटनीतिक मर्यादा समेत पालना नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको कार्यकर्ता झैं राज्यले व्यवहार गरिरहेको आरोप लगाए । भारतसँगको सुमधुर सम्बन्ध विना नेपालको उन्नती प्रगति नहुने वास्तविकतालाई राज्यपक्षले बेवास्ता गरेको बताउँदै उनले भने ‘मित्रराष्ट्र भारतसँगको सम्बन्ध बिगारेर नेपालको हित कदापि हुन सक्दैन ।’ प्रधानमन्त्री केपी शर्मा ओली मानसिक रुपमै विरामी भएको कुराको परिचय आफैले दिईरहेको उनले आरोप लगाए ।
सरकार बनाउने र गिराउने कार्य आफूहरुको प्राथमिकता रहेको भन्दै नेता भण्डारीले जनतालाई अधिकारसम्पन्न बनाउने उद्देश्यका साथ अगाडि बढिरहेको उनले बताए । अहिले सरकारमा जाने वा गिराउने भनी अनावश्क हल्ला फिँजाउने काम भइरहेकोले त्यस्ता हल्लाको पछि नलाग्न आमजनतासँ उनले आग्रह गरे । देशको समस्या समाधान गर्न राज्यपक्षले नै नचाहिरेको भन्दै उनले भने ‘सिमांकनको मुद्दा कुनै ठूलो समस्या होइन, राज्यले यसको समाधान गर्न मनसाय मात्र बनाए यो समाधान हुन्छ, लिम्बुवान, मधेश र किराँत बसेर नै सिमांकनको विषय टुङ्गो लगाउनेछ ।’
राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डलको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष शेखरकुमार सिंह, प्रवक्ता केशव कुमार झालगायतको उपस्थिति रहेको थियो ।