Top_Header_Right_Add

मिथिला चित्रकलाको केन्द्र बन्दै सप्तरीको भारदह

मिथिला चित्रकलाको केन्द्र बन्दै सप्तरीको भारदह

राजविराज, २३ वैशाख । लोक कला विभागका प्रमुख सुबोधचन्द्र दास (एससी सुमन)ले मिथिला चित्रकलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउनुकालागि ग्रामिण क्षेत्रबाटै संरक्षणको प्रयास हुनुपर्नेमा जोड दिएका छन् ।
ललितकला प्रज्ञा प्रतिष्ठान लोक कला विभागद्वारा सप्तरीको भारदहमा विहीबारदेखि सञ्चालित मिथिला लोक कला प्रशिक्षण कार्यशालाको उद्घाटन गर्दै उनले यस्तो कुरा बताएका हुन् । ग्रामिण भेगका महिलाहरुमा लोक कला संस्कृतिको भण्डार रहे पनि राज्यपक्षबाट समुचित संरक्षण हुन नसकेको भन्दै स्थानीय स्तरबाट समेत यसको संरक्षण सम्वद्र्धनकालागि जनस्तरबाट समेत पहल हुनुपर्नेमा उनले जोड दिए ।
धनुषाको मिथिला चित्रकलाले आफ्नो पहिचान स्थापित गरिरहेको भन्दै सप्तरी जिल्लाको भारदहलाई समेत यसको केन्द्र बनाउन आफूहरु प्रयासरत रहेको प्रमुख अतिथि प्राज्ञ झाले बताए । लोक कला संस्कृतिलाई जिविकोपार्जनको आधार बन्नुपर्ने आवश्यकता औंल्याउँदै उनले भने ‘ग्रामिण महिलाहरुमा अद्भूत कला छ, फुर्सदको क्षणलाई मात्र सदुपयोग गरिदिए आयआर्जनको आधार बन्ने निश्चित छ ।’1 (4)
चर्चित चित्रकार श्यामसुन्दर यादवले मिथिला क्षेत्रका महिलाहरुमा प्रतिभा रहे पनि प्रष्फुटन गर्ने ठाउँ नपाएका कारण यसको उजागर हुन नसकेको बताए । आइतवारसम्म चल्ने उक्त कार्यशालामा सहभागीहरुद्वारा बनाईएका चित्रहरुको बृहत प्रदर्शन गर्दै कार्यक्रम समापन गरिने उनले जानकारी दिए ।
जिल्लाको भारदह, पोर्ताहा, मधवापुर र योगिनिया गाविसका १९ महिला र एक पुरुष गरी २० जनाको सहभागिता रहेको छ । मिथिला चित्रकलाको उत्पादन केन्द्रको रुपमा विकास गर्ने उद्देश्यका साथ प्रतिष्ठानले यसअघि १५ दिनको मिथिला चित्रकला तालिम प्रदान गरिसकेको चित्रकार यादवले जानकारी दिए ।
उनका अनुसार आफ्नै घरमा बसेर सहभागीहरुद्वारा तयार गरिने चित्रहरुको उचित पारिश्रमिक दिएर काठमाण्डौ स्थित ‘मिथिलाए आर्ट ग्यालरी’ले खरिद गर्नेछन् । निर्मित चित्रहरु ग्यालरीले खरिद गर्ने भएपछि सहभागीहरुलाई बजारिकरणको समस्या नरहने प्रष्ट्याउँदै उनले भने ‘घरमै बसेर फुर्सदको समयको मात्र सदुपयोग गरिए चित्रकला जिविकोपार्जनको माध्यम बन्ने निश्चित छ ।’

रामपूजन ठाकुरको अध्यक्षतामा आयोजित कार्यक्रममा संयोजक मिथिला देवी यादव, प्रशिक्षक अनुराधा चौधरी, समाजसेवी वीरेन्द्र माझी, कलाप्रेमी राघव झा, शिक्षक शिवशंकर मण्डललगायतले मिथिला चित्रकलाको महत्वबारे धारणा राखेका छन् । कार्यशालामा शहिद परिवार, गरिव एवम् विपन्न परिवारका व्यक्तिहरुको सहभागिता रहेको छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer