• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

महिला मजदुर गौराबालीको पीडाः काम समान तर ज्याला असमान

महिला मजदुर गौराबालीको पीडाः काम समान तर ज्याला असमान

श्यामसुन्दर यादव
राजविराज, १९ वैशाख ।  पुरुष मजदुर सरह नै महिला मजदुर पनि सँगसँगै दिनभरि काममा जोतिन्छन् तर पारिश्रमिक पाउने बेलामा महिलाको भागमा भने ज्याला कम हुन्छ । निर्माण सम्वन्धि काम होस् वा खेतको काम, महिला भएकै कारण अझैं पनि कम ज्याला दिइने गरिन्छ ।
तराई–मधेशको चर्को घाममा आम पुरुषहरुसँग बराबरी काम गरे पनि महिला भएकै कारण सहकर्मीको भन्दा कम ज्याला पाए चित्त बुझाउँदै आएकी पात्र हुन् गौराबाली । सप्तरी जिल्लाको गौरा गाउँमा माइती भएका कारण उनी गौराबाली भनेर चिनिने गर्छिन् तर उनको वास्तविक नाम भने रतनी देवी खङ्ग हो । जमुनी मधेपुरा गाउँ विकास समितिको वडा नम्वर–९ छपकीभथौल घर भएकी ४६ वर्षिया उनी विगत एक दशकदेखि भवन निमार्णकर्मी मजदुरको रुपमा काम गर्दै आएकी छिन् । उनको प्रमुख काम भनेको पुरुषसँगै इँटाको भारी ओसार्ने, सिमेन्ट, बालु र गिट्टीको मसला बनाएर मुख्य मिस्त्रीसम्म पु¥याउने हो । हालसम्म उनले दर्जनौं विद्यालय, पुल, घर, पर्खाल, कल्भर्ट आदिमा मजदुरको काम गरिसकेकी छिन् । 2
युवाहरु विदेश पलायन भएका कारण गाउँका गाउँ खाली भएको अवस्थामा मजदुर पाउनै गाह्रो छ । मजदुरको अभाव रहेको अवस्थामा छिमेकी गाउँबाट समेत गौराबालीलाई खोज्दै उनको झुपडीसम्म मान्छेहरु चहार्ने गर्छन् । उनी मजदुरको रुपमा पुरुषसँगै काम गर्न थालेपछि गाउँ–टोलका छिमेकीहरुले महिला भएर पुरुषसँग काम गर्न जान्छे भन्दै कुरा पनि काटे । तर उनले मेहनत गरी दुई पैसा आर्जन गरेर घर परिवार चलाउन के को लाज ? भनी सोचेर मजदुरी गर्न छाडिनन् । समाजका केही व्यक्तिले गरेको आलोचनालाई उनले सहज रुपमा लिइन् तर बराबरी खट्दा पनि कम ज्याला पाउँदा चाहीँ उनलाई पिरोल्ने गरेको छ ।
उनी गाउँकै एक्लो महिला मजदुर थिइन् । पछि उनका सहकर्मी गाउँकै फगुनी सरदार र निरसी सरदार समेत यही पेशामा सामेल भए । यद्यपी उनीहरु त्यति सक्रिय भने रहन सकेनन् । गौराबालीका पति श्रीलाल हलिया मजदुर (हरवाही)को रुपमा काम गर्दै आएका छन् । उनका छोराहरु रमेश र दिनेश समेत निर्माणकर्मी मजदुर हुन् । गौराबालीका पुरै परिवार विभिन्न स्थानमा मजदुरी गर्दैआएका छन् ।
सहर–बजारतिर पुरुष मजदुरले ५ सय पाउँछन् भने महिलालाई साढे तीन सयदेखि ४ सय दिइन्छ । गाउँ देहातमा पुरुषले ४ सय तथा महिलाले २ सय पचासदेखि ३ सय रुपैयाँ ज्याला पाउँछन् । यस्तै पुरुषले खेतमा हलो जोत्ने, कोदालो चलाए वापत ज्यालाको रुपमा १५ देखि २० किलोसम्म धान दिइन्छ भने महिलाले रोपाइँ गरेवापत ७ किलो धान पाउँछन् । तराई–मधेशका जिल्लाहरुमा अझैं पनि महिलाहरुले असमान ज्यालैमै चित्त बुझाउनु परेको छ ।
बराबर काम गरेर पनि कम पारिश्रमिकमै चित्त बुझाउँदै आएकी गौराबाली गाउँमै एक पत्रकारको घरमा काम गर्न गइन् । अन्य पुरुष मजदुर सरह नै गौराबालीले काम गरिन् । ज्याला दिने क्रममा अन्य मजदुर सरह नै गौराबालीलाई पनि मजदुरी दिएपछि उनले बढी नलिने भन्दै अस्वीकार गरिन् । कारण उनले सहकर्मीहरुको भन्दा कम पारिश्रमिक पाउनु सामान्य कुरो भइसकेको थियो । सँगै काम गरेका सहकर्मी मजदुरभन्दा दैनिक सय रुपैयाँ घटाएर दिन उनले आग्रह गरिन् । तर ती सञ्चारकर्मीले भने महिला र पुरुष समान हो, तपाईले काम पनि समान गर्नु भएको छ भन्दा उनी भावुक भइन् । 3
आफूले पसिना बगाएर कमाएको पारिश्रमिक लिने बेलामा गौराबालीका हात कामिरहेका थिए । यद्यपी उनले पारिश्रमिक स्वीकार गर्दै भनिन्– यो समस्या गौराबालीको मात्र होइनन्, तराई मधेशका म जस्ता महिलाहरुको समस्या हो तर समाधान गर्ने कसले ? आफूहरुले काम बराबरी गरे पनि महिला भएकै कारण कम ज्याला दिने गरेको उनले गुनासो गरिन् । एक–आध व्यक्तिले बराबर पारिश्रमिक दिए पनि त्यतिले महिलाले न्याय नपाउने गुनासो गर्दै उनले भनिन्– हामी जस्ता महिलाहरुका लागि कतै नियम कानून छैन, गिरहतले दिएको बोनी मजदुरीमै चित्त बुझाउनुपर्ने बाध्यता छ, बढी ज्याला माग गरे काममा पनि बोलाउँदैनन्, बेराजगार भएर बस्नुपर्ने अवस्था सिर्जना हुन्छ ।
महिला पुरुषको ज्यालामा विभेद गर्न नपाइने भनी कानून बनेको छ नि ? भनी जिज्ञासा राख्दा गौराबालीले ‘सहर बजारमा नियम कानून कार्यान्वयन भइरहेको छैन भने गाउँको कुरा नगर्दा पनि हुन्छ’ भन्ने जवाफ फर्काइन् । हरेक क्षेत्रमा पुरुष र महिलाको बराबरी हक छ रे भन्ने कुरा सुन्दैआए पनि व्यवहारमा भने कार्यान्वयन हुन नसकेको गौराबालीको गुनासो छ ।
यसैगरी करिब एक दशकदेखि राजविराज नगरपालिका वडा नम्वर–२ पडरिया टोलकी भुटी देवी सरदारको पीडा पनि फरक छैन । उनी समेत पुरुष सहकर्मीसँगै भवन निर्माण सम्वन्धि काम गर्दैआएकी छिन् तर बराबर पारिश्रमिक पाउनु अपवाद जस्तै हुन्छ । मजदुरको रुपमा काम शुरु गरेकी ४० वर्षिया भुटी अहिले मिस्त्रीको काम गर्न समेत अभ्यस्त भइसकेकी छिन् । बजार क्षेत्रमा मिस्त्रीलाई ७ सय रुपैयाँ पारिश्रमिक दिने गरिएको भए पनि आफू जस्ता महिलाले भने ५ सय रुपैयाँमै चित्त बुझाउनुपर्ने अवस्था रहेको उनले दुःखेसो सुनाइन् । कानूनी रुपमा महिला र पुरुषलाई समान मानेर समान काममा समान ज्याला दिनुपर्ने कुरा उल्लेख रहेको भए पनि व्यवहारमा भने लागु हुन नसकेको उनको भनाइ छ ।
आम महिलाहरुको तुलनामा त्यसै तराई–मधेशका महिलाहरु पछाडि परेको अवस्था विद्यमान रहेको मैथिल महासंघ नेपालका अध्यक्ष समेत रहेका अधिवक्ता विष्णुकुमार मण्डल बताउँछन् । मधेशका निम्न वर्गीय अधिकांश महिलाहरु कृषि मजदुरको रुपमा कार्य रहेको बताउँदै उनी भन्छन्– समान काम गरेर पनि मधेशका महिलाहरु पुरुषको दाँजो कम पारिश्रमिकमै चित्त बुझाउनुपर्ने अवस्था छ, कानूनी प्रावधान रहे पनि कार्यान्वयन हुन सकेको छैन त्यसैले यसतर्फ सम्वन्धित निकायको ध्यान केन्द्रित हुनु जरुरी छ ।