राजविराज । मजदुर दिवसको अवसर पारेर आयोजना हुन लागेको साँस्कृतिक कार्यक्रम श्रमिकहरुलाई नचाउन सप्तरीबाट नायिका डोली सरकार मलेसिया जान लागेकी छिन् ।
मलेसियाको जोहरवारु र पेनाङ्गमा १ मई अर्थात वैशाख १९ गते आयोजना हुन लागेको उक्त साँस्कृतिक कार्यक्रममा सहभागी हुन उनी मलेसिया जान लागेकी हुन् । मधेशको मैथिली, भोजपुरीलगायतका भाषाहरुमा प्रस्तुतिकालागि डोलीलाई आयोजकले अतिथि कलाकारको रुपमा बोलाएका छन् ।
दर्शकहरु माझ छुट्टै पहिचान बनाईसकेकी उनी यस अघि १५ पटक कतार र एक पटक युएईमा जादुमय प्रस्तुति गरिसकेकी छिन् भने मलेसिया पहिलो पटक जान लागेकी हुन् । फ्रेण्डसिप धमाका ग्रुपको व्यवस्थापनमा आयोजना हुन गइरहेको कार्यक्रममा नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित नायिका तथा मोडल ज्योति मगर, आधुनिक नायिका प्रजिता गेलाल र नायिका मेलिना राइको धमाकेदार प्रस्तुति रहने जनाईएको छ ।
दोहोरी गीतमा मोडलिङ्ग गरेर चर्चा पाएकी ज्योति तेस्रो पटक मलेसिया जान लागेकी छिन् । आधुनिक नायिका गेलाल मलेसियाका दर्शकका बीच पहिलो पटक प्रस्तुति दिन लागेकी छिन् । मगर, गेलाल र सरकार मई २ मा जोहरकै सेनाइमा आयोजना हुन लागेको कार्यक्रममा समेत सहभागी हुने छिन् ।
अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा आयोजना हुन लागेको साँस्कृतिक कार्यक्रममा सहभागी हुन पाएकोमा नायिका डोलीले खुशी व्यक्त गरिन् । विदेशमा रहेका नेपाली तथा मधेशी मजदुरहरुका बीच कला प्रस्तुति गरेर भरपूर मनोरञ्जन प्रदान गर्ने बताउँदै उनले भनिन् ‘मलेसियामा रहेका आफ्नै गाउँठाउँका दाजुभाइसँग मजदुर दिवस मनाउन पाउनु खुशीको कुरा हो, त्यसैले मैथिली, भोजपुरी र हिन्दी भाषाको नृत्य प्रस्तुति हेर्न नछुटाउन आग्रह छ ।’