हेटौंडा, १४ वैशाख । मदर्सा अर्गनाइजेशन अफ नेपालले मङ्गलवार हेटौडा स्थित क्षेत्रिय शिक्षा निर्देशनालयका निर्देशक कृष्ण घिमिरेलाई ज्ञापन–पत्र बुझाएका छन् ।
संस्थाको अध्यक्ष हाजी मैनुदिन अंसारीको अध्यक्षतामा ७ सदस्यीय टोलीले ज्ञापन पत्र बुझाएका हुन् । नेपाल सरकार शिक्षा मन्त्रालयले मदर्सालाई शिक्षाको मुलधारमा ल्याउने नितिलाई केहि कार्यक्रम अगाडि बढाई मदरसालाई विद्यालय सरह सुविधा दिने उद्घोष गरेपनि पर्सा जिल्लामा मदरसाहरुले पाउनुपर्ने सुविधाहरु जिल्ला शिक्षा कार्यालयबाट उपलब्ध नभएको हुँदा मदरसा शिक्षाले गतिलिन नसकेको हुँदा मदर्सा शिक्षालाई व्यवस्थित गर्न र गतिशिल बनाउन तपसिलका माँगहरु पुर्ति गर्न सहयोग गरि दिनका लागि सो ज्ञापन पत्रमा उल्लेख गरिएको हो ।
ज्ञापन पत्रमा ७ बुँदे माग मदरसा तौहिदुल इस्लाम निम्न माध्यमिक विद्यालय बीरगञ्ज बहुअरी वडा नम्वर १७ को कक्षा ९ का लागि अनुमति, कक्षा १ तथा कक्षा ६ को अनुमति नियमित प्रदान गर्ने, मदरसामा शिक्षक कोटा विद्यार्थी संख्या अनुपातमा वृद्धि गर्ने, भवन, घेराबार निर्माण तथा मर्मतको भौतिक निर्माण कोटा उपलब्ध गराउने, मदरसामा कार्यालय सहयोगिको व्यवस्था गर्ने, एसआइपी अनुदान रकम उपलब्ध गराउने, सामुदायिक विद्यालय सरह अन्य सुविधाहरु उपलब्ध गराउने सहितको ज्ञापन पत्र बुझाइएको छ ।
क्षेत्रीय शिक्षा निर्देशक कृष्ण घिमिरेले माँगहरु आवश्यक भएको भन्दै सरकारलाई ध्यानाकषर्ण गराउने प्रतिबद्धता ब्यक्त गरेका छन् । उक्त टोलीमा इमामुदिन अहमद, ग्यासुद्दिन ठकुराई, समसेद अख्तर, रउफ अन्सारी, मोहम्मद अब्बास र एसएम जहाँ गस्त रहेका थिए ।