राजविराज, १३ वैशाख । विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्ने प्रतिवद्धता गरेको वर्षौं भइसक्दा पनि व्यवहारमा भने कार्यान्वयन हुन नसकेको राजविराजमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
शिक्षा पत्रकार समूहले सोमवार राजविराजमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै नेपाल शिक्षक महासंघ सप्तरीकी उपाध्यक्ष निलम मिश्राले वर्षभरिमा २ सय २० दिन विद्यालय सञ्चालन गर्नुपर्ने प्रावधान रहेकोमा उच्च माध्यमिक विद्यालय, टेक्निकल इन्स्टिच्युटलगायतका परीक्षाहरु सञ्चालन गर्नुले पठन–पाठन प्रभावित भएको बताईन् । विद्यालयलाई राजनीतिक गतिविधिबाट मुक्त राख्नुपर्नेमा जोड दिँदै उनले भनिन् ‘विभिन्न चुनावहरुका साथै सार्वजनिक कार्यक्रमहरु विद्यालयमै राखिनुले विद्यालयको पठन–पाठन प्रभावित हुने गरेको छ ।’
नेपाल शिक्षक संघ सप्तरीका अध्यक्ष विद्यालयलाई शान्तिक्षेत्र घोषणापत्रमा हस्ताक्षर गरिसकेका राजनीतिक दलहरुले नै व्यवहारमा कार्यान्वयन नगरेको बताए । पाठ्यपुस्तक, छात्रबृति वितरण र कक्षा सञ्चालन भए नभएको विषयमा जनसमुदायले चासो लिनुपर्नेमा उनले जोड दिए ।
जिल्ला बाल क्लव सञ्जालका अध्यक्ष अमर यादवले सामुदायिक विद्यालयहरु राजनीति गर्ने थलोको रुपमा परिणत हुँदैगएको भन्दै यसलाई तत्काल रोक्नुपर्ने आवश्यकता औंल्याए । ‘आफ्ना छोरा–छोरीलाई बोर्डिङ्ग स्कूलमा पढाउने तर राजनीति गर्नकालागि सरकारी विद्यालयमा समेत नाम लेखाउने गरेको छ’ उनले भने ‘विद्यालयहरुमा सरोकारवालाहरुले नियमित अनुगमन गर्नु जरुरी छ ।
कार्यक्रममा वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, जिल्ला शिक्षा कार्यालयका अधिकृतद्वय भोगेन्द्र प्रसाद यादव, विजयकुमार मण्डल, गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष शम्भुनन्द चौधरी, शिक्षा पत्रकार समूहका राजकुमार बराल, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष धीरेन्द्र प्रसाद साह, कार्यवाहक अध्यक्ष श्रवण देव, कान्तिपुर दैनिकका सम्वाददाता रामनारायण विश्वास, कल्याण पोष्ट दैनिकका सम्पादक माला कर्ण, नागरिक दैनिकका जितेन्द्र कुमार झा, सबल नेपालका मीनबहादुर आले, उपेन्द्र साहलगायतले मन्तव्य व्यक्त गरे ।