• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सरकार ! मधेशका अञ्चल अस्पतालमा अक्सिजनको अभावमा विरामी मर्दैछन्

सरकार ! मधेशका अञ्चल अस्पतालमा अक्सिजनको अभावमा विरामी मर्दैछन्

श्यामसुन्दर यादव
राजविराज, ५ वैशाख । नेपाल सरकारको विभेदकारी दृष्टिका कारण मधेशका अस्पतालहरुको अवस्था कस्तो छ ? भन्ने कुराको प्रमाण खोज्न धेरै टाढा जानु पर्दैन । यस्तै चरम लापर्वाहीको नमूना हो राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ।
सामान्यतया जिवन बँचाउने लालसाका साथ जो कोही पनि अस्पतालमा भर्ना हुने गर्छन् । तर अस्पतालमा पनि समयमा उपचार नपाएर अकालमै ज्यान मर्नु परेको घटनाहरु दर्जनौं छन् । कतिपय मृतकका आफन्तजनले चिकित्सकसँग सामान्य झगडा, विरोध वा आन्दोलन गरेर चित्त बुझाउने गरेका छन् भने कतिपय त गरीब एवम् विपन्न व्यक्तिहरु रुँदै लाश बोकेर घर फर्किने गरेको दृष्य सामान्य जस्तै भइसकेको छ । 20160417_071507
सम्पन्न व्यक्तिहरु सामान्यतयाः यो अस्पतालमा उपचार गराउन लग्नुभन्दा धरान वा बिराटनगर हुइँकिन्छन् । तर विपन्न वर्गका सर्वसाधारण जनता यहि अस्पतालमा भुइँमै बोरा ओछ्याए सुत्ने गर्छन् । उसलाई ईलाज गर्ने भनेको स्थानीय टेक्निकल ईन्सिट्च्युटका सिकारु विद्यार्थीहरु । सामान्य बाहेक गम्भीर प्रकृतिका बिरामीहरुलाई ‘सुविधा सम्पन्न अस्पतालमा लानु’ भनेर रेफर गरिन्छ । पैसावालहरु तीन हजारदेखि चार हजारसम्म एम्बुलेन्स भाडा तिरेर भए पनि उतै हुइँकिन्छन् तर अस्पतालले रेफर गरिदिँदा पनि विपन्न व्यक्तिहरु यही अञ्चल अस्पतालको भुइँमा पल्टिरहन्छन् । यदी निको भएर घर फर्किए भने इश्वरकै कृपा बुझेर घर फर्किन्छन् ।20160417_071646
हो, यो वास्तविक यथार्थ हो राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको । साविकको मधवापुर घर भई हाल राजविराज–७ निवासी ७० वर्षिया सुशीला देवी विराजीले समेत अस्पतालमै अक्सिजनको अभावमा आइतवार दम तोडेकी छिन् । जिल्ला प्रहरी कार्यालयको गेटमै घर भएका जिल्ला विकास समिति सप्तरीका पूर्व सभापति बिरवल बिराजीकी पत्नी सुशीलालाई स्वास लिन समस्या समस्या भएपछि जिल्ला प्रहरीकै भ्यानमा विहान ४ बजे अस्पताल भर्ना गरियो

अस्पताल भर्ना गरिए पछि त्यहाँ चिकित्सकहरु कोही थिएन । थिए त केवल सिकारु विद्यार्थीहरु । उनीहरुले तुरुन्तै आला र थर्मामीटर लिएर बिरामीको ईलाज गर्न आए । केही समयपछि विरामीको अवस्था गम्भीर बन्दैगएको थियो । उनलाई अक्सिजन लगाउनुपर्ने अवस्था आयो । स्वास्थ्यकर्मीले अक्सिजनको पाइप छामछुम गरेर अक्सिजन सकिएको बताए । उपचार गराएर स–कुशल घर फर्किने आश लिएर आएकी उनी करिब एक घण्टाको अन्तरालपछि आकस्मिक कक्षको बेडमै सदाकालागि बिदा भईन् । 20160417_071022
शायद गाउँ देहातका सर्वसाधारण व्यक्तिको यस्तै अकालमा मृत्यू भएको भए चुपचाप विधीको विधान भन्दै लाश बोकेर घरतर्फ लाग्थे । तर जिल्ला विकास समितिका पूर्व सभापति विरवल विराजीकी पत्नी भएका कारण आफन्तजनले दुई–चार पत्रकारलाई पनि खबर गरे । उक्त घटनाबारे केही पत्रकारले चासो पनि लिए भने केहीले त सामान्य रुपमा लिँदै बेवास्ता पनि गरे । किनभने अस्पतालको दुर्दशाबारे दशकौंदेखि पत्रकारहरुले लेख्दैआएका छन् । तर बहिरा सरकारले अस्पतालको अवस्थाबारे बेवास्ता गर्दैआएको छ ।20160417_071425
अस्पतालमा रहेको विद्युतीय अक्सिजन बिग्रेको हप्तौं भइसकेको छ भने सिलिण्डरमा अक्सिजनमा सिद्धिएको समेत कैयौं दिन भईसकेको अस्पताल श्रोतबाट बुझिएको छ । आकस्मिक कक्षको डिउटीमा रहेका स्वास्थ्यकर्मीहरुसँग बुझ्न खोज्दा ‘हामीलाई केही थाहा छैन, ईञ्चार्ज रामकुमार दियालीलाई सोध्नुस् भन्दै ९८४२८२२९०४ नम्वर दियो । उक्त नम्वरमा फोन गर्दा स्वीच अफ रहेको पाईयो ।
अस्पतालमा भएको घटनाबारे जानकारी पाएपछि आकस्मिक कक्ष आईपुगेका निमित मेडिकल सुपरिन्टेन्डेन्ट डा. दिलिपकुमार साह अवाक रहे । कहिले अक्सिजन सकिएको हो ? भन्ने प्रश्न गर्दा चुपचाप टहलिए । मृतकका आक्रोशित आफन्तजनबाट छलेर उनी केही नबोलिकन बाहिरिए । 20160417_071335
यी त भए एउटा प्रतिनिधिमूलक घटनाको नमूना मात्र । अस्पतालमा हालसम्म पनि सरकारले दरबन्दी अनुसारको चिकित्सक नपठाएको, आवश्यक उपकरण र औषधिको अभाव रहँदैआएको छ । अस्पतालमा शौचालयको पाइपहरु फुटेर स्टाफ कोठामा आउने गरेको तथा विरामी तथा कुरुवाहरुले प्रयोग गर्ने शौचालय प्रयोग गर्ने अवस्थामा समेत नरहेको अस्पतालका एक चिकित्सकले बताए ।
ईन्स्टिच्युटका सिकारु विद्यार्थीहरुको भरमा अस्पताल चल्दैआएको नागरिक समाजका अगुवाहरु बताउँछन् । अस्पताल भर्ना भएर यदि निको भएर विरामी घर फर्किए भने ईश्वरकै आशिर्वाद सम्झिने गरेको नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीको भनाई छ । अस्पतालको विषयमा आफूहरुले पटक–पटक आवाज उठाउँदा पनि हालसम्म सरकारले ध्यान नदिएको उनको गुनासो छ । नेताहरुले भोट माग्ने बेलामा अञ्चल अस्पतालको अवस्था सुधार्ने प्रतिवद्धता गर्दैआए पनि चुनाव जितेर कुर्सी पाएपछि विर्सिने गरेको सप्तरीका सर्वसाधारण जनताको जनताको आक्रोशपूर्ण टिप्पणी रहेको छ ।

भारत सरकारको सहयोगमा २०२८ सालमा स्थापित सगरमाथा अञ्चल अस्पतालको नाम करिब तीन वर्ष अघि फेरिएको छ । तत्कालिन स्वास्थ्यमन्त्री राजेन्द्र महतोको विशेष पहलमा सय शैय्याको उक्त अस्पतालको नामको अगाडि मधेश आन्दोलनका प्रणेता भनेर चिनिने स्व. गजेन्द्रनारायण सिंहको नाम जोडिए पनि अवस्थामा भने कुनै परिवर्तन हुन सकेको छैन ।
20160417_071933