राजविराज, ३ वैशाख । नेपाल सदभावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्र नारायण सिंहको ८७ औं जन्मजयन्ती तथा सदभावना पाटीको ५६ औं स्थापना दिवस पारेर विरामीहरुलाई फलफूल वितरण गरिएको छ ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका बिरामीहरु र अनाथ बालबालिकाहरुलाई फलफूल वितरण गरिएको हो । सदभावना पार्टीका राष्ट्रीय उपाध्यक्ष नवलकिशोर साह, सदभावना पार्टीका केन्द्रीय सदस्यहरु हरेकृष्ण प्रसाद सिंह, राजेन्द्र प्रसाद यादव, दिपेन्द्र चौधरी, अमरनाथ मण्डल, जिल्ला अध्यक्ष सुनिल कुमार झा, क्षेत्रीय अध्यक्ष लक्ष्मण यादव, विद्यार्थी मंचका अध्यक्ष किशोर कुमार यादव, महिला नेतृ मंजुलता देवी यादव, विद्यार्थी मंचका महासचिव चन्दन कुमार यादवसमेतका नेताहरुले फलफूल वितरण गरेका छन् । यस अघि नेताहरुले स्व. सिंहको शालिकमा माल्यार्पण गरेका थिए ।
यसैगरी सद्भावना पार्टीले शुक्रवार विराटनगरमा संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंहको ८७ औं जन्मजयन्ति मनाएको छ ।
सद्भावना पार्टी जिल्ला कार्य समिति मोरङले सिंहको ८७ औं जन्मजयन्ति र सद्भावना पार्टीको २३ औैं स्थापना दिवस एकैसाथ मनाएको हो । पार्टीका बरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद मण्डलको उपस्थितिमा आयोजित कार्यक्रममा सद्भावना पार्टीका केन्द्रीय सदस्य दिलिप धाडेवा, राजेन्द्रप्रसाद गुप्तासहित फोरम गणतान्त्रिकका केन्द्रीय महासचिव रामलाल सुतिहार, एमाले मोरङ्गका अध्यक्ष महेश रेग्मी, संघीय समाजबादी फोरम नेपालका मोरङ्गका अध्यक्ष राजकुमार यादव लगायतले स्वर्गिय सिंहको योगदानको चर्चा गरे ।