राजविराज, १ वैशाख । सप्तरीको देउरी भरुवा गाविस वडा नम्वर–६ मा बुधवार विहान आगलागी हुँदा ६ परिवारको १४ ओटा घर जलेर नष्ट भएको छ ।
सोफी मण्डलको घरबाट खाना पकाउने क्रममा चुलोबाट अचानक आगो सल्किँदा उनको फुसको छानो भएको घरलगायत ६ परिवारको घर, गोठ समेत गरी जम्मा १४ बटा घर जलेर नष्ट भएको हो । आगलागीमा परि उनीहरुको घरमा रहेको फर्निचर सामग्री, खाद्यान्न सामग्री, लत्ताकपडा समेत गरी करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्थानियवासिन्दा र सदरमुकाम राजविराजबाट गएको बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिईएको छ ।
यसैगरी मङ्गलवार राती सप्तरीको सारस्वर–४ स्थित अब्दुल सलाम अन्सारी मियाँको घरबाट अचानक आगलागि हुँदा निजको एउटा घर र छिमेकी गुफरान अन्सारीको टिनको छानो भएको एउटा घर र घरभित्र रहेको चाँदी १ केजी ५०० ग्राम, सुन २ तोला, साइकल ३ थान, नगद १ लाख रुपैयाँ समेत गरी करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।