राजविराज, २५ चैत । मधेशी मोर्चा सप्तरीले जिल्ला विकास समितिको एकिकृत योजना तर्जुमा बैठक वहिष्कार गर्दै व्यानर समेत जलाएका छन् ।
आगामी चैत २८ गते तय भएको २२ औं जिल्ला परिषद्को उद्घाटन गराउने विषयलाई मोर्चा सम्वद्ध राजनीतिक दलहरुले बैठक वहिष्कार गर्दै व्यानर जलाएका हुन् । आन्दोलनरत मोर्चा सम्वद्ध दल र सतारुढ पार्टीरु बीच मत बाझाबाझ भएको थियो ।
मधेशी मोर्चाले २२ औं जिल्ला परिषद्को उद्घाटन मधेश आन्दोलनका पहिलो शहीद राजिव राउतकी पत्नी निलम देवी राउतबाट गराउने अडान लिएका थिए । नेकपा एमाले, एमाओवादी, नेपाली काग्रेंस र राप्रपा नेपालले मोर्चा सम्वद्ध दलहरुको अडानलाई अस्वीकार गरेका थिए । मोर्चाको आग्रहलाई बेवास्ता गरेपछि आन्दोलनरत दलहरुले नाराबाजी गर्दै जिल्ला विकास समिति परिसरमै ब्यानरमा आगजनी गरेका थिए ।
शहीद राउत पत्नीबाट उद्घाटन र अन्य शहीद परिवारलाई सम्मान गर्ने अडान मधेशी मोर्चा सम्वद्ध दलहरुले राखेका छन् । कार्यक्रममा मोर्चाका संयोजक मण्डल, सदभावना पार्टीका नेता सत्यनारायण यादव, दिनेश यादव, विद्यार्थी मञ्चका अध्यक्ष किशोर कुमार यादव, सदभावना पार्टीका क्षेत्रीय अध्यक्ष लक्ष्मण यादव, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य अशोक कुमार यादव, जिल्ला अध्यक्ष दिनेश यादव, तमलोपा जिल्ला अध्यक्ष रामपृत यादव, तराई मधेश सदभावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादव, फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष नरेन्द्र यादव, युवा विद्यार्थी मोर्चाका नेताहरु फनिकान्त झा, भूपेंद्र यादव, रामसपाका जिल्ला उपाध्यक्ष बैजू दाससहितका नेताहरुले विरोध जनाएका छन् ।