राजविराज, २५ चैत्र । संयुक्त अरब अमीरात (यूएई) मा बस्दैआएका मधेशीहरुबाट संकलन गरिएको सहयोग रकम मधेशका अति विपन्न शहीद परिवार तथा सिरहाको अग्नीपीडितहरुलाई हस्तान्तरण गरिएको छ ।
होलीको अवसर पारेर जारी मधेश आन्दोलनमा घाइते र सहीद भएका तथा मधेशमा प्राकृतिक विपदा पीडितहरुलाई सहयोगार्थ अल ऐन शहरमा मार्च १८ सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । मानवीयताको नाताले सहयोग जुटाउन मधेशबाट चर्चित मैथिली एवम् भोजपुरी अभिनेत्री डोली सरकार र गायक देवेन्द्र सोनीसहित स्थानीय कलाकारहरुले प्रस्तुति गरेका थिए ।
युएईमा रहेका प्रवासी मधेशीहरुबाट संकलित रकम सिराहाको बिसनपुरकट्टीका २६ अग्नि पिडित परिवारलाई छाना हाल्न प्रति परिवार एक हजार रुपैयाँ हस्तान्तरण गरिएको आवासीय मधेशी संघ युएईका संयोजक डा. रविन्द्र कुमार यादवले जानकारी दिए । उनका अनुसार नायिका डोली सरकार र गायक देवेन्द्र सोनीले उक्त सहयोग आफ्नै हातबाट प्रदान गरेका छन् ।
यसैगरी बाराको कलैयाका शहीद हिफाजÞत मियाँ, सर्लाही हरिपुरका शहीद राधिका देवी, महोत्तरीका शहीद राम बिवेक यादव, सप्तरीका डाढा–७ का शहीद बीरेन्द्र राम, मोरङ्ग डाइनियाका शहीद शिबू माझीको घरमै पुगेर राहत सहयोग उपलब्ध गराएको डा. यादवले बताए । प्रति शहीद परिवार १० हजार रुपैयाँको दरले आर्थिक सहयोग गरेको र भविष्यमा समेत आर्थिक सहयोग जारी राख्ने उनले प्रतिवद्धता व्यक्त गरे । 