अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी

२०४६ सालको ऐतिहासिक जन आन्दोलन पछि नेपालमा बहुदलीय शासन पदतीको शुरुवात भयो । वहुदलिय शासन लागु भए पछि नेपालको मधेशमा बसोबास गर्ने मधेशीहरुको पिडा सम्बोधन गर्न श्री गजेन्द्र नारायण सिंह र बाबा राम जन्म तिवारीको अगुवाईमा २०४७ बैशाख १–३ सम्म सदभावना परिषदको बैठकबाट सदभावना परिषद नेपाल सदभावना पार्टीमा रुपान्तरण गर्ने निर्णय भयो । २०४७ अषाढ १५ह्१६ को जनकपुर महाधिवेशनबाट उक्त पाटी तराईको एक स्वायत प्रदेशको स्थापनाको मागज घोषणा पत्र जारी भयो ।
नेपाल सदभावना पार्टी स्थापनामा पर्साका मधेशीहरुको भूमिका महत्वपूर्ण थियो । बाबा रामजन्म तिवारी, डा. शिवशंकर यादव, भाग्यनाथ गुप्ता, डा. रविन्द्र सिंह , जयनारायण चौरसिया नेताको रुपमा थिए भन्ने मास्टर तारा सिंह , दिना शर्राफ, सोहन क्षेत्री , अमल प्रसाद, कमल साह, जस्ता यूवाहरु मुख्य कार्यकर्ताको भुमिकामा थिए । २०४७ सालमा मधेश र मधेशीको अवस्था आज भन्दा धेरै भिन्द थियो । मधेशको वीरगञ्जमा नै पहाडी शासकको वर्चस्व थियो । मधेशको म अक्षर पनि उच्चारण गर्न हिम्मत र जागरको आवश्यकता थियो ।
विरगञ्जमा नेपाल सदभावना पार्टीको बैनर लगाउन मुश्किल थियो । पार्टी कार्यलयको लागी घर भाडामा दिने कुनै मधेशी तयार थिएनन् । दिप नारायण साहले गोश्वारा रोड स्थित घर दिदाँ त्यस घरमा तोडफोड भएको थियो । उक्त समयमा सदभावनाका कार्यकर्ताको परिचय अमला, कमला, र तबलाको रुपमा हुने गर्यो । अमला यानी अमल प्रसाद, कमला यानी कमल साह कानु र तबला यानी तारा सिंह (राम अयोध्या कुर्मी) ।
तारा सिंह मधेशवादप्रति निड्डर एवम शाहसी कार्यकर्ता थिए । उनको अभिव्यक्ति गायनबाट शुरु हुन्थ्यो । तबला बादनमा निपुण आज पनि उनका धेरै शिष्यहरु छन् । तारा सिंह मधेशबादको प्रति प्रतिवद्ध थिए नै त्यसको साथै वीरगञ्जमा बोलिने भाषा भोजपुरी प्रति पनि सचेत थिए । ५÷७ लाख भोजपुरी भाषी बारा पर्सामा मात्र भए पनि कोही कसैले चासो नदेखाउँदा तारा सिंहले भोजपुरी प्रतिष्ठान गठन गरी निरन्तर काब्ययात्रा कविता गोष्ठि गीत गजलको र हरेक वर्ष होलीको दुई दिन अगाडि ‘महामुर्ख’ घोषणा कार्यक्रम निरन्तर दिँदैआएका थिए ।
भोजपुरीको नाममा धेरै जना ठाउँ पाई विदेश सयर गरे पनि तारा सिंहले त्यसतर्फ ध्यान नदिई जेनतेन गरी विरगञ्जमा मात्र कार्यक्रम गर्दै आएका थिए । २०७२।१२।८ मा नेपाल भोजपुरी प्रतिष्ठानको वैनरमा महामुर्ख घोषणा कार्यक्रम भएको थियो । माईस्थानमा भएको उक्त कार्यक्रममा महामुर्ख सांसद रमेश पटेल र मुर्ख शिरोमणी मलाई घोषणा गरेका थिए । उक्त कार्यक्रम भए पछि अर्को वर्ष ठूलो जन सहभागीतासहित वढी लगानीमा कार्यक्रम गराउने बाचासहित विदा भए तारा सिंह २०७२ चैत्र १० गते होलीका दिन आफै सदाको लागी विदा भए ।
तारा सिंहको विदाई मृत्युको खबर २०७२ चैत्र १० गते करिब ७ः३० बजे मलाई मेकेश सरावगीले गर्दा म लगभग निजलाई गाली दिन मुडमा पुगेको थिए होलीको दिन पनि मजाक, उनले जतिभन्दा पनि विश्वास लागेन पछिबाट जितेन्द्र कुर्मीले पनि उक्त खबर पुष्टि गर्न मलाई मोबाइलमा फोन गर्दा साँचो लागेर मसान घाट पुगेँ । मसानघाटमा पुग्दा मलाई धेरे खल्लो महशुस भयो । वीरगञ्जका चर्चित सांस्कृतिकविद, भोजपुरी भाषाको संरक्षणकर्ता मधेशको मुद्दामा निड्डरतासाथ लागेका व्यक्तिलाई १०–१५ जनाले सिधै मसानघाट पुरयाएका थिए । कुनै कार्यक्रम विना तर पछि वीरगञ्जका राजनितिज्ञ र पत्रकार साहित्यकार समाजसेवीको केही मात्रामा उपस्थिति भयो ।
मास्टर तारा सिंह जो निरन्तर मधेशको भोजपुरी र सांस्कृतिक उत्थानमा लागेका व्यक्ति आर्थिक रुपमा विपन्न रहेको मलाई त्यस दिन थाहा भयो । पार्थिव शरिरमा आगो लगाउन पुर्व केही केटाहरु गाइँगुइँ गरिरहेका थिए । अब यीनको श्राद्ध कसरी गर्ने ? छोरा छन् तर आर्थिक हैसियत छैन । छोरा पनि कमाउ पुत्र होईनन् । ३५–४० वर्षदेखि समाज उत्थानमा लागेका राजनितिज्ञ एवम समाजसेवीको देहावशान पछि दाह संस्कार गर्न जोहो गर्नु पर्ने हो, त्यसवेला म महशुस गरेँ । जति आदर्शको कुरा गरे पनि पैसा मान्छेलाई नभै नहुने रहेछ । जिवनमा मात्र होईन मरे पछि पनि पैसा चाहिन्छ तथापी पैसा आदर्श भन्दा ठूलो होईन ।
मास्टर तारा सिंहले आफ्ना जिवन भाषा साहित्य गायन र मधेशवाद प्रति सम्पर्तित गरी आफ्ना जिवन वीरगञ्जकै सेवामा र खास गरी वीरगञ्जको गहवा मन्दिर आसपासमा विताएका छन् । अन्तिम सास समेत गहवामाई मन्दिरमा लिएका हुन् । निजले आफ्ना जिवनमा धेरै राजनितिज्ञ पत्रकार, बुद्धिजिवि, साहितयकार, कवि र समाजसेवीलाई सम्मानित गरेका छन् । अब सम्मानित हुनेहरुले तारा सिंहलाई सम्मानित गर्नु पर्ने समय आएको छ । वहाँलाई सम्मानित गर्नु नै वहाँ प्रतिको सच्चा श्रद्धान्जली हुनेछ ।