मोरङ्ग, २२ चैत्र । सुनसरी मोरङ सिंचाइ आयोजनासँग आवद्ध जल उपभोक्ता समितिका कृषकहरुले नहरमा पानी नछाडेको र संस्था नविकरण नगरेको भन्दै आन्दोलनको कार्यक्रम सार्वजानिक गरेका छन् ।
समितिले सोमवार विराटनगरमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रममा घोषणा गरेका हुन् । आयोजनाले आफुहरुको माग नसुनेको भन्दै आन्दोलमा उत्रनु बाध्यता भएको जल उपभोक्ता समितिका केन्द्रीय अध्यक्ष रामप्रसाद मेहताले बताए । उनले सोमवारैदेखि चैत २९ गतेसम्म आन्दोलनका कार्यक्रम गरिने जानकारी दिए ।
पहिलो दिन सोमवार सुनसरी मोरङ सिचाई आयोजनामा विहान ११ बजेदेखी १२ बजेसम्म धर्ना दिएका छन् । यसैगरी प्रत्येक दिन दुई घण्टादेखि तीन घण्टासम्म कार्यालय परिसरमा धर्ना दिने र सो कार्यक्रम चैत २६ गतेसम्म जारी रहने समितिले जनाएको छ ।
धर्ना कार्यक्रमले माग सम्बोधन नभए सिंचाइ आयोजनामा तालाबन्दी गर्ने समितिले जनाएको छ । आयोजनका ईन्जिनियर लक्ष्मण सिंहले किसानहरुले उठाएका मागको सम्वोधनका लागि मन्त्रालयमा जानकारी गराईसकेको दावी गरे । किसानहरुको मागलाई मन्त्रालयले सकारात्मक रुपमा लिएको उनको भनाई छ । आयोजनाले मोरङ र सुनसरीमा करिब ६५ हजार हेक्टर जमिनमा सिंचार्इं सुविधा पु¥याउँदै आएको थियो । आयोजनाले नहर मर्मत सम्भार गर्ने भन्दै गत चैत ६ गतेदेखि नहरमा पानी वन्द गरेको छ ।