राजविराज, १४ चैत्र । लामो बन्दले पढाई प्रभावित भएका एसएलसी दिन लागेका विद्यार्थीहरुकालागि सञ्चालित रेडियो कार्यक्रम सप्तरीको पत्थरगाडा स्थित एसएलपी उच्च माध्यमिक विद्यालयका केही विद्यार्थीहरुले भने लाभ लिएका छन् ।
एसएलसी परीक्षा दिने विद्यार्थीहरुको पठन–पाठन प्रभावित भएको वास्तविकतालाई मध्यनजर गर्दै सप्तरीमा सञ्चालन गरिएको रेडियो कक्षाको लाभ केही विद्यार्थीहरुले भने लिन सफल भएका हुन् । सेभ द चिल्ड्रेनको सहयोगमा जिल्ला शिक्षा कार्यालयले सञ्चालन गरेको ६ हप्ते रेडियो कार्यक्रम केही विद्यार्थीले रुचीका साथ कार्यक्रम सुनेर विषय शिक्षकसँग छलफल गरेर लाभ लिएको विद्यालयका प्रधानाध्यापक देवु प्रसाद यादवले बताए ।
श्रोतकेन्द्रको बैठकमा पाएको जानकारी अनुसार आफूले त्यसको भोलीपल्टै विद्यालयका सम्वन्धित शिक्षकहरुलाई जानकारी गराएको उनले बताए । विद्यार्थीहरुलाई लाभ मिल्ने विषय भएकोले आफूले गम्भीरतापूर्वक लिएको बताउँदै उनले भने ‘कुन कुन रेडियोबाट, कति बजे प्रशारण हुन्छ ? भन्ने विषयमा मैले शिक्षक तथा विद्यार्थीहरुलाई समेत जानकारी दिएँ ।’
फागुन १ गतेदेखि रेडियोहरुबाट सञ्चालन भएको नेपाली, अङ्ग्रेजी, विज्ञान, गणित र सामाजिक विषयको रेडियो कक्षामा केही विद्यार्थीहरुले सहभागिता जनाएका कारण राम्रै अङ्क प्राप्त गर्नेमा आफू आशावादी रहेको बताए । नियमिततर्फ कुल १ सय ७४ विद्यार्थीहरुमध्ये ३५ जनाले नियमित रुपमा रुचीका साथ छलफल कार्यक्रममा पनि सहभागी भएको प्रधानाध्यापक यादवले जानकारी दिए ।
एसएलसी दिन लागेका विद्यार्थीहरुलाई लक्षित गरेर सञ्चालन गरिएको रेडियो कार्यक्रमको उद्देश्य एकदमै राम्रो रहे पनि पूर्व तयारीमा भने कमी देखिएको गणित विषयका शिक्षक घनश्याम यादवले बताए । केही विद्यार्थीले निक्कै रुचीकासाथ कार्यक्रममा सहभागिता जनाएको जानकारी दिँदै उनले भने ‘सबभन्दा पहिला त रेडियोहरुको प्रशारण समय उपयुक्त भएन, सबै विद्यार्थीसँग रेडियोको उपलब्धता भएन, विद्यालयमा रेडियो समेत उपलब्ध थिएन ।’
शिक्षक यादवका अनुसार वैकल्पिक शिक्षणको रुपमा अपनाईएको यो विधिलाई आगामी दिनहरुमा पूर्व तयारीका साथ अगाडि बढाईए फलदायी हुने उनको भनाइ छ । ‘विद्यालयकै समयमा रेडियो कार्यक्रम प्रशारण हुने समय मिलाएर एकै ठाउँमा विद्यार्थीहरुलाई एकै ठाउँमा बसेर सुन्न सक्ने वातारण मिलाइएको भए सिकाई प्रभावकारी हुने थियो’ उनले भने ‘विषय शिक्षकका साथ बसेर कार्यक्रम सुन्ने वातावरण मिलाइएको भए तत्कालै जिज्ञासा समाधान हुनेथियो ।’
रेडियो सुन्ने ईच्छा हुँदाहुँदै अभिभावकले रेडियो सुन्नकालागि मोबाइल दिन नमानेको सोही विद्यालयमा अध्ययनरत एक छात्राले बताईन् । आफ्ना सहकर्मी अधिकांश छात्राहरु यस्तै समस्याका कारण रेडियो सुन्नबाट बञ्चित भएको बताउँदै उनले भनिन् ‘कार्यक्रम बनाउँदा हामी जस्ता निम्नवर्गका छात्र–छात्राको समस्यालाई मध्यनजर गर्न आग्रह छ ।’
सेभ द चिल्ड्रेनले सहयोगात्मक सिकाई परियोजना अन्तर्गत ३८ लाख २७ हजार ५५ रुपैयाँ खर्च गरेको छ । जसमध्ये माध्यमिक तह सञ्चालनमा रहेका जिल्लाका ७६ ओटा विद्यालयका प्राथमिक शिक्षकहरुलाई सिकाई सम्बन्धि तालिम दिईएको तथा उनीहरुमार्फत पनि रेडियो कार्यक्रमबारे विद्यालयलाई जानकारी गराएको सेभ द चिल्ड्रेनका एजुकेसनल अफिसर सञ्जीव साहले जानकारी दिए । उनका अनुसार श्रोतकेन्द्रहरुको बैठकमा समेत प्रधानाध्यापकहरुलाई एसएलसी तयारी कक्षाबारे जानकारी गराएको छ । कार्यक्रम सञ्चालित एफएमहरुबाट समेत कार्यक्रमबारे प्रोमो (प्रचार) गरिएको अफिसर साहले बताए ।