लहान १४ चैत । सिरहाको भगवानपुर कल्याणपुर छेउको बलान खोलामा अन्तर्राष्ट्रियस्तरको १० दिने सीताराम नाम जप महायज्ञ १००८ कीर्तनकुञ्जको आयोजना हुने भएको छ । 
विद्यार्थी बाबाको संयोजकत्वमा १ सय ५१ सदस्यीय आयोजक समिति गठन गरिएको जनाईएको छ । चैत्र ३० गतेदेखि बैशाख ९ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा लाखौंको सहभागितामा हुने अनुमान गरिएको छ ।
१००८ सहस्र कुण्डी विष्णु महायज्ञ तथा सीताराम नाम जप महायज्ञ १००८ कीर्तनकुञ्ज नाम दिएको उक्त कार्यक्रमकालागि भारत विहार र नेपालको मधेश क्षेत्रका जिल्लाका संस्कृति झल्किने कार्यक्रम समेत राखिएको छ ।
सिरहा सप्तरीको बीच भागमा पर्ने बलान खोलाको टप्पु स्थल ५ किलो मिटरमा फैलिएको छ । उक्त स्थलमा १ हजार ८ किर्तन कुञ्ज श्री सीताराम जप, १ हजार ८ होमकुण्ड हवन, १ सय ११ भगवानको प्रतिमा पुजन, १ सय ८ रामायण पाठ, कथा प्रवचन, झांँकी, लिला, मनोरञ्जन, सर्कसलगायतको कार्यक्रम रहेको विद्यार्थी बाबाले बताए ।
बाबाले उक्त कार्यक्रममा करिब ५ करोड खर्च लाग्ने भएकोले स्थानीय जनश्रमदान, सरकारी, गैरसरकारी तथा स्थानीयको आर्थिक सहयोगबाट सञ्चालन गरिने बताए । कार्यक्रमबाट खर्च कट्टा गरी आएको रकमबाट अध्यात्मिक विज्ञान स्कूल निर्माण गर्ने, सिपमुलक कार्यक्रम, अनाथ आश्रम, वृद्धा आश्रम, कन्या पाठ्शाला, चिडियाघरलगायत निर्माण गर्ने विद्यार्थी बाबाले जानकारी दिए ।
विश्व कल्याण—विश्व शान्ति र हिन्दु धर्मको उत्थानको लागि गर्न लागिएको उक्त कार्यक्रममा १७ हजार ४ सय २२ जप गर्ने, २ हजार १६ सय हवनकर्ता, १ सय ८ रामायण पाठक, एक हजार स्वंमसेवक रहने आयोजक समितिका सूर्यनारायण यादवले बताए । दैनिक लाखौको ओहोरदोहोर हुने सो कार्यस्थलमा पाँच सय शौचालय निर्माण, २ सय ५० हेन्डल पाईप, १२ सय वाटरफ्रुप घर (राउटी), एक हजार मण्डली घर, २ सय स्वंमसेवक घर निर्माण थालिएको छ ।