राजविराज, १४ चैत्र । विगत दुई दिनदेखि गृह जिल्ला सप्तरीमा रहेका सिंचाई मन्त्री उमेश कुमार यादवले आइतवार संघीय समाजवादी फोरम नेपालका नेता शैलेन्द्र प्रसाद साहसँग भेंटघाट गरेका छन् ।
सिंचाई मन्त्री यादवले नेता साहको राजविराज स्थितको घर पुगेर नेता साहसँग भेंटघाट गरेका हुन् । विहान करिब आठ बजेको समयमा मन्त्री यादव फोरमका राजनीतिक समिति सदस्य साहसँग भेंटघाटका क्रममा जिल्लाको समग्र विकास निर्माणको विषय छलफल भएको छ ।
मन्त्री यादव र नेता साह बीच विकास निर्माण लगायतका विषयहरुमा छलफल भएको मन्त्रीका प्रेस सल्लाहकार सुरेश कुमार यादवले जानकारी दिए । उनका अनुसार लामो भेंटघाटका क्रममा मन्त्री यादवले अति आवश्यक योजनाहरु भए जानकारी गराउन आग्रह गरे ।
दोस्रो संविधानसभाको निर्वाचनमा सिंचाई मन्त्री यादव सप्तरी क्षेत्र नम्वर–३ बाट निर्वाचित भएका थिए भने नेता साह फोरम नेपालबाट उनका निकटतम प्रतिद्वन्द्वी रहेका थिए । नेता साह जारी मधेश आन्दोलनमा सशक्त भूमिका निर्वाह गर्दैआएका छन् ।