• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मधेसका स्थानीय समस्या र समाधान
316967_1606022406617_965538392_n
विजयप्रसाद मिश्र

विजयप्रसाद मिश्र
विश्वमा समस्या जहाँ पनि छ । नेपालमा पनि समस्याहरु जताततै छन् । अझ मधेसमा धेरै समस्याहरु छन् । हिजोआज मधेसका समस्याहरुलाई बहसको विषय बनाउने गरिएको छ । मधेसमा के के समस्याहरु छन् ? ती समस्याहरु समाधान गर्न के गर्न सकिन्छ ? धेरैले अन्तरक्रियाहरु गर्ने, प्रतिवेदनहरु बनाउने गरेका छन् । तर पनि मधेसको समस्या ज्यूँका त्यूँ छन् । किन यस्तो भइरहेको छ ? कसको कमजोरीले यो भइरहेको छ ? राजनीतिक मुद्दा बनाएर सत्तामा पुग्नेहरुले यसलाई कसरी अगाडी बढाएको पाउनु भएको छ ? यसमा बहस हुन आवश्यक छ ।

मधेस अन्नको भण्डार भएर पनि यहाँ गरिबी छ । उर्वर भूमि भएर पनि पर्ति जमिनहरु प्रसस्त छन् । मधेसमा गरिने खेती प्रणालीमा उत्पादन भन्दा बढी लागत लागेको अनुन्धानबाट देखिन्छ । मधेसीहरु बारम्बारको राजनीतिक आन्दोलनले व्यवसायिक क्रान्ति गर्न तर्फ उन्मुख हुन पाएका छैनन् । विश्वका विभिन्न मूलुकले गरेको आर्थिक क्रान्ति, व्यवसायिक क्रान्तिको प्रचारप्रसार मधेसमा कम छ । यहाँका नेताहरुले पुरानै डर्राको राजनीतिक क्रान्ति गर्न सिकेका छन् । उनीहरु जनतालाई सकसमा पारेर व्यापारीवर्ग, उद्यमीहरुलाई सकसमा पारेर गरेको आन्दोलन सफल भएकोमा फुर्ति हाक्ने गरेका छन् । राजनीतिलाई पेशाको रुपमा अवलम्वन गरेमा रातारात धन कमाइन्छ भन्ने उदाहरण बन्न पुगेका छन् नेताहरु । १० बर्ष अघि मोटो चप्पल लगाएर लखर–लखर हिड्नेहरु नेता भएपछि अहिले पजेरोमा हिड्ने भएका छन् । यसले नेपालमा राजनीति गर्दा धनी हुने रहेछ भन्ने नजिर बनाएको छ । यही नजिरको पछि सिंगो समाज लागेको छ । चिया गफहरुमा नेताहरुकै टिका टिप्पणी हुन्छन् । ती नेताहरुलाई देशको विकासका लागि राजनीतिक परिवर्तनको रटान लगाउन मात्र आउँछ । आर्थिक क्रान्तिको नाम सुन्न चाहन्नन् । देशको सही समस्या अझै उनीहरुको बहसमा आउँदैन । मधेसको समस्याहरुलाई निम्न अनुसार बहसमा ल्याउन सकिन्छ ।
मधेसको समस्यालाई सामाजिक÷सास्कृतिक, राजनीतिक, आर्थिक, शैक्षिक र स्वास्थ्य गरेर विभजन गरेर हेर्न सक्दछौं ।
सामाजिक र साँस्कृतिक समस्यालाई स्थानिय÷जिल्ला स्तरमा हेर्दा यहाँ प्राकृतिक श्रोत साधन माथि पँहुचमा असमानता रहेको पाइन्छ । सामाजिक छुवाछुतको प्रभाव छ । जातजातिको प्रभाव भएकोले पहुँच नभएका जातिहरु चाहेर पनि उन्नती गर्नबाट बञ्चित छन् । घरपरिवार र समाजमा महिलाहरुलाई हेर्ने दृष्टिकोण परम्परागत छ । यसले महिलाहरुको उन्नतीमा बाधक बनेको छ । घरबाट बाहिर जान नदिने, धेरै पढ्न हुदैन भन्ने । छोरीको जात अर्काको घर जाने जातको रुपमा हेरिने चलन अहिले पनि छ । त्यसमा पनि विवाहमा दाईजो प्रथाको प्रभावले गरिब चेलिवेटीहरुको इच्छा अनुसार विवाह नभई बाध्यताको बन्धनमा जीवन गुजारा गर्नु पर्ने परम्पराले गर्दा महिला भित्रको विचारहरु घरायसी समस्याले नै ओझेलमा पार्ने गरेकोले महिलालाई कमोडिटीको रुपमा हेर्ने चलनहरु बढी मात्रामा रहेको छ । यसले मधेसी समाजमा महिलाहरुलाई पहिले भन्दा अहिले सकारात्मक रुपमा धेरै हेर्न थालिए पनि बौद्धिक बर्ग र हुनेखाने बर्गमा परिवर्तन आए पनि मधेसी समुदायमा यसको प्रभाव पर्न अझ केही उपायहरु राज्यले अवलम्बन गर्नु पर्ने देखिन्छ ।
मधेसका मातृभाषामा मानिसले गौरब गर्न सकिरहेका छैनन् । मातृ भाषाको महत्वलाई उजागर गर्न सकेको देखिदैन । समुदायक वन परियोजनाको मधेशीमा नकारात्मक प्रभाव परेको देखिन्छ । सबै सरोकारबालाको भलाईको लागि बन हुनु पर्नेमा बन क्षेत्रको नजिकका बासिन्दाको लागि मात्रै भएको अनुभुति मधेसी समुदायले गरिरहेका छन् । बन मधेसीको लागि पनि उत्तिकै आवश्यक छ । तर बनमा उनीहरुको पहुँच सहज रुपमा हुन सकिरहेको छैन । बन जाँदा असुरक्षित भएको महसुस मधेसीमूलका मानिसहरुले गरिरहेका छन् । यसबाट मधेसी समुदायमा पहाडी समुदाय र राज्य प्रति नकारात्मक सोचाई आउनु स्वभाविक हो ।
स्थानिय स्तरमा रहेका विभिन्न कुरुती जस्तैः बालविवाह, बहुविवाह, बोक्सी प्रथाको चलन अहिले पनि उत्तिकै छ । यसले मधेसी महिलाहरुको स्वास्थ्य स्थितिमा पनि नकारात्मक असर परी रहेको छ । कतै कतै मधेशी महिलाहरु मधेशीमहिलाहरुबाटै पिडित छन् । विभिन्न जातजाति भित्र सहयोगको अभाव रहेको छ । जतिसुकै एकताको कुरा गरेपनि भित्र भित्रै मधेसीहरुबीचमा पनि जातिय विभेद छ । यसलाई न्यूनिकरण गर्ने प्रयास गर्नु भन्दा पनि राजनीति गर्नेहरुबाट पनि यसलाई बढावा दिने गरेको पाइन्छ ।
मधेसका बालबालिकाहरु कुपोषणको सिकार भएका छन् । गरिबीका कारणले खानपिनको समस्या छ । पौष्टिक आहारहरु खाने बानीको विकास भएको छैन । यसले मानवीय अवस्थामा नै असर पारी रहेको हुन्छ । मधेस भए पनि सरकारी विदाहरुको कारण र पहाडे संस्कृतिमा बनाउने चाडपर्वहरुमा बढी उल्लासमय हुने कारणले स्थानिय स्तरमा पहाडे संस्कृति हावी भएको महसुस मधेसी समुदायले गर्ने गरेका छन् । स्थानीय स्तरमा आप्mनो मातृभाषामा सरकारी निकायमा कामकाज गर्न पाउनु पर्ने माग गरे पनि अदालतबाट रोकिएको प्रसंग झिकेर मधेसीहरु मातृभाषालाई राज्यका निकायहरुले कमजोर पारेको आरोपहरु लगाउने गरेका छन् ।
मधेशमा मनाइने स्थानीय चाड पर्वमा विदा हुनु पर्ने हो तर कम दिइन्छ । गणतन्त्र आएपछि यसमा विशेष ध्यान दिए पनि मधेसीहरु अझैपनि उनीहरुको पर्वमा फराकिलो पाराले विदा नपाएको अनुभुति गर्दैछन् । पुराना अनुभुतिलाई फ्याल्ने जमर्को पनि भइरहेको छैन । यसमा मानसिक रुपमा मधेसीहरु पहाडी समुदाय प्रति र पहाडीसमुदाय मधेसी समुदाय प्रति नकारात्मक सोचाई राख्ने प्रबृत्तिका छन् ।
राज्यको तल्लो निकायले संचालन गर्ने विविध कार्यक्रमहरुमा मधेसी महिलाहरुलाई अग्रसर गराउने क्रम विस्तारै बढेपनि यसलाई अपुरो कै रुपमा मधेसीहरुले हेरिरहेका छन् । सामुदायीक परिचालनमा महिलाहरुलाई अघि बढ्न नदिनु अर्को समस्या हो । महिलाहरुमा पारिवारीक सम्मान नएकोले उनीहरु पछी परेका छन् ।
क्षेत्रिय स्तरका समस्याहरुलाई हेर्दा पनि के देखिन्छ भने मधेशका दलित र जनजातिहरुलाई समग्र मधेश भित्र राखेर हेर्न नसक्नु मधेसी समुदायकै कमजोरी हो । मधेसका सबै जातिहरु मधेसी हुँ भन्न चाहदैनन् । मधेमा बस्ने मुश्लिम, थारु, आदिवासी मधेसी जनजातिहरु मधेसी बाहेक अन्य पहिचान खोज्दै हिडेका छन् । यसबाट आदिवासी र जनजातिबिच अन्तर छुट्टिनु पर्ने सो गरिएको छैन भौगोलिक क्षेत्रमा बस्ने विभिन्न मानिसहरुको यथोचित सम्मान र हैसियत पाउनु पर्ने यसको अभाव दृखिएको छ ।
धार्मिक पहिचान दिने मधेशका मठ मन्दिर, मस्जितहरुको उचीत संरक्षण हुन सकेको छैन । धार्मिक पर्यटन बढाउन सक्ने मधेसका अनगिन्ती स्थलहरु छन् तर त्यसको प्रचार प्रशार हुन सकेको छैन । मधेसमा भाषिक एकरुपतामा जोड दिनु पर्दछ । माध्यम भाषाको रुपमा नेपाली, हिन्दी र अंगे्रजी भाषाको प्रयोग गर्ने चाहना मधेसीहरुको छ । तर राज्यले त्यो दिईराखेको छैन ।
क्षेत्रीय स्तरमा मधेशी समुदायको पहिचान भनेको उनीहरुको भेषभुषा, भाषा, संस्कार नै हो । तर ।यसको अनुसरण मधेसी नेताहरु स्वयंले गर्न विर्सने गरेका छन् । अमेरिका भ्रमण गर्दा धोती कुर्ता लगाएर जाने मधेसीहरु देखिदैनन् । उनीहरुलाई उतैको सुट मनपरेको देखिन्छ । नयाँ सस्कारमा जाँदा आफ्नो मातृसंस्कार ओझेलमा परेको उनीहरुलाई हेक्का छैन ।
राष्ट्रिय स्तरमा हेर्दा मधेसीहरुको दमन र शोषणको प्रमुख कारण राज्य सत्ता हो । संचार माध्यम मधेसीहरुको समस्या प्रति पक्षपात पूर्ण छ । संचारमा पकड भएकाहरु मधेसीहरुलाई बेदेशी ठान्दछन् । र मधेसीहरु भने ‘हम विदेशी नही मधेसी हैं तुमसे बढकर स्वदेशि हूँ । ’ भन्ने गरेका छन् । छुवाछुत, जातजाती र विभिन्न सामाजिक कुप्रथाहरु प्रति राज्यले चासो प्रभावकारी नहुनु र सामाजिक असमानताको प्रमुख कारण जातीप्रथा भएकोले त्यसलाई न्यूनिकरण गर्न राज्यको मास्टर प्लान नहुनुले मधेसमा समाजिक कुप्रथाहरु प्रयाप्त मात्रामा हेने गरेको छ ।
मातृभषामा शिक्षाको व्यवस्था हुन नसक्नु र विद्यालय स्तरको पढाई पनि प्राविधिक हुनुपर्ने देखिन्छ ।
मधेसी महलाहरुले ल्याउने पेवाहरु उनीहरुको नाममा रहने र संरक्षण गरिनु पर्ने देखिन्छ ।

राजनैतिक समस्यालाई हेर्ने हो भने पनि स्थानीय र जिल्ला स्तरमा गाउँघरमा हुने पञ्चेती वा अन्यकुनैपनि छलफलमा स्थानीय मधेसी समुदायको अपनत्व कम भएको देखिन्छ । मधेशी समुदायको बाहुल्यता रहेको ठाँउँमा पनि राजनीतिक तहमा पहाडे समुदायको राजनीतिक पकड हुने गरेको छ ।
स्थानीय स्रोत साधनहरु स्थानीय स्तरमा प्रयोग हुन नसक्नुने मधेसीहरु बढी आक्रोशित छन् । यसलाई उनीहरुले राजनीतिक मुद्दा बनाउने गरेका छन् । जल्लाको प्राकृतिक स्रोत र साधनको आम्दानी र खर्चका लागि मधेशी, आदीवासी र दलितको समेत एउटा जिल्ला समिति बनाउनु पर्ने माग मधेसी समुदायको छ । उनीहरु जि. वि.स., नगरपालिकाको विकास निर्माण, बजेट बाँडफाड, नीतिनिर्माण, योजना आदि क्षेत्रमा मधेसी, आदिवासी, दलित, जनजातिहरुलाई पनि समावेश गर्नु पर्दछ भन्दै छन् ।
क्षेत्रीय स्तरमा मधेस र मधेसीको परिचय र भाषा परिभाषित हुन सकेको छैन । क्षेत्रीय स्तरमा रहेका राजनीतिक विचार धारा लिएका पक्षहरुबीच समान मुद्दामा एकावद्ध भएर सहकार्य गर्न सकेका छैनन् । राजनीतिक रुपमा क्षेत्रीय स्वायत्तताको सोच आउनु तर सीमा निर्धारणमा विवाद भएकोले मधेस बढी आक्रोशित देखिएको छ । यसले मधेसको धारणा नलिई जवरजस्ती संघीयता बनाइएको छ भन्ने देखाउँछ । द्वन्द्व पिडीत र विस्थापितहरुका लागि उचित क्षतीपूर्ति र सहयोगको व्यवस्था नहुनु मधेसको अर्को समस्याको रुपमा रहेको छ ।
राष्ट्रिय स्तरमा विश्लेषण गर्दा मधेस र मधेसीको परिचय र भाषा परिभाषित हुन नसक्नु । शासन प्रशासन, सेवा इत्यादि सम्पूर्ण क्षेत्रमा समान÷समावेशी सहभागिता हुन नसक्नु । र समग्र मधेश दुई प्रदेश अन्र्तगत थारुहरुको राज्यको लागि मधेसी समुदायले पनि लडिदिनु पर्दछ । मुस्लिम मदर्साको संचालनमा सरकारी संरक्षण तथा अनुदानको व्यवस्था गर्नु पर्दछ ।
मुस्लिम आयोगलाई प्रभावकारी रुपमा संचालन गर्नु पर्दछ । राज्यको पुर्नसंरचनाको लागि हरेक क्षेत्रमा जातिय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व हुन नसक्नुलाई पनि समस्याकै रुपमा लिइन्छ । राज्य व्यवस्थाटै सक्षम महिलाहरु पनि अवसरबाट वञ्चित गरिएको छ । नागरिक समाज तथा मानवअधिकारवादीहरुले मधेसी आदिवासी जनजाति, दलित र पिछडिएका वर्गका समस्याहरुलाई प्रभावकारी रुपमा नउठाउनु पनि समस्याकै रुपमा रहेको छ ।
नीतिनिर्माण र सरकारी सेवामा मधेसी समुदायमा नगन्य उपस्थिती रहेको आवज मधेसीहरुले जोडतोडले उठाउने सवालहरु हुन । मधेसमा शोषण गर्ने पक्ष पहाडे होइन राज्यसत्ता हो भन्नेकुरा घामजस्तै छर्लङ्ग्ग छ । मधेसको समस्या बढाउने राज्यसत्ताका सञ्चालकहरु हुन् । मधेसको स्वयत्तता र स्वतन्त्रता जस्ता कुराहरु संविधानमा उल्लेख हुनु पर्ने हो । तर, मधेसीले चाहे अनुसार उल्लेख नभएको भनेर उनीहरुले राजनीतिक आन्दोलन गरे । मधेस आन्दोलनले गति नलिनुमा नेतृत्वको अभाव हो । केन्द्रीय स्तरमा रहेका राजनीतिक दलहरु सम्पूर्ण मधेसी समूदायप्रति पक्षपाति छन । औषधी उपचरको लागि गरिव मधेसी आदिवासी, जनजाति र दलितको लागि निःशुल्क सेवा प्रधान गर्नु पर्दछ गरेको भनिएर प्रसार गरिए पनि कर्मचारी बर्गमा यसको असर परेको छैन । मधेशी, आदीवासी, जनजाति र दलितवर्गको शिक्षामा पहँुच बढाउन विशेष कार्यक्रम ल्याउनु पर्ने । सामाजिक वनौट अनुसार निर्वाचन क्षेत्रको अभाव भएकोले मधेसीहरु रुष्ट भएका छन् ।

शिक्षामा पनि अवस्था नाजुक छ । विद्यालयमा गुणस्तरीय शिक्षा छैन । विद्यार्थीको भविष्य उज्यालो बनाउने मनसाय बोकेका शिक्षकहरुको कमि छ । अपवादमा बाहेक मधेसको शिक्षा जसरी हुन्छ पास गरेर सर्टिफिकेट हात परे भयो भन्ने मानसिकता छ । शिक्षामा तल्लो कक्षाबाटै आधार बनाउने योजना ल्याउनु पर्दछ । आर्थिक समस्याको विश्लेषण गर्दा स्थानीय र जिल्ला स्तरमा हेर्ने हो भने स्थानिय श्रोत साधन सम्म पहुँच पुग्न नसक्नु । स्थानीय स्तरमा मधेशी आदीवासी दलित, पिछडिएका जनजातीहरुको जनसंख्या धेरै भएपनि यिनीहरुको अवस्था माथि उठाउन राज्यले कुनै प्रभावकारी नीति ल्याउन सकेको छैन ।
मधेसमा हुने परम्परात हक भोगको अभिकारलाई मान्यता नदिनु अर्को समस्याको रुपमा रहेको छ । स्थानिय उत्पादनको बजार व्यवस्था नहुनलाई पनि मधेसी समुदायले राज्यको गलत रणनीतिका रुपमा लिएका छन् । ग्रामिण क्षेत्रमा कृषिलाई व्यवसायिकरणको प्रयाश नगरिनु पनि मधेसको अर्को प्रमुख समस्या हो । स्थानिय ऋण लगानीलाई प्रभावकारी नबनाईनु पनि समस्याको रुपमा रहेको छ र मधेसमा खुलेका सहभागीहरुले समुह बनाएर दिने कर्जामा समेत चर्को व्याज उठाउनाले मधेसी समाज जेनतेन जीवन निर्वाह गरेर बसिरहेको छ ।
क्षेत्रीय स्तरको आर्थिक समस्यालाई हेर्ने हो भने प्राकृतिक स्रोत साधनमा मधेशीको पहुँच न्यून गराईएको छ । भौगोलिक रुपमा रहेका जनसंख्याको आधारमा बजेट विनियोजन हुन नसक्नु पनि मधेस प्रति गरिएको उपेक्षा नै हो । क्षेत्रिय स्तरमा रहेका स्रोत साधनहरुलाई त्यही क्षेत्रको विकासमा लगाउन नसक्नु अर्को विढम्बना हो । क्षेत्रीय विकासको लागि क्षेत्रीय आम्दानीहरुलाई सदुपयोग गर्र्नु पर्नेमा समस्या देखिएको छ ।
राष्ट्रिय स्तरमा आर्थिक समस्यालाई हेर्दा मधेसका आदिवासी जनजाति समुदायहरु कृषिमा निर्भर भएपनि सिचाई र उन्नत मल बिउँको व्यवस्था छैन । जनसंख्याको आधारमा बजेट विनियोजन हुन नसक्नु र प्राकृतिक स्रोत साधनमा समान पहुँच नहुनुले गर्दा मधेसीहरु समस्यै समस्यामा परेका छन् । त्यसैगरी स्वास्थ्य समस्यालाई विश्लेषण गर्दा स्थानीय र जिल्ला स्तरमा प्रजनन स्वास्थ्य सम्बन्धि चेतना नहुनु नै स्वास्थ्यको प्रमुख समस्या हो भने । दिशापिसाव जथाभावी गर्ने, फोहोर बस्ने बानीहरुले मानिसमा समस्यै समस्या ल्याएको छ ।
राष्ट्रिय स्तरको स्वास्थ्य समस्या हेर्ने हो भने प्रजनन स्वास्थ्य सम्बन्धि जानकारी र सेवा, सुविधाहरु राज्यले प्रदान गर्न सकेको छैन । केही आइएनजीओहरुले सरकारकै नीतिलाई कार्यान्वयन गर्नका लागि केही जिल्लाहरुमा काम गरिरहेको पाइए पनि समग्रमा मधेसमा स्वास्थ्यको पहुँच ज्यादै न्यून छ । सरकारी स्कूलमा केही स्वास्थ्य जागरण कार्यक्रमहरु भएपनि बोर्डिङ् स्कूलहरुमा यसको व्यवस्था छैन । यसले के देखिन्छ भने औषधि उपचारको लागि गरिव, मधेशी, आदिवासी, जनजाति र दलितको लागि निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको भने पनि व्यवहारमा लागु नहुनुले समस्या देखिएको छ ।
समग्रमा मधेसमा धेरै समस्याहरु छन् । कृषिको लागि सिंचाई र उन्नत बीउ, विजन, पशुपालन र फलफुल खेतीलाई व्यवसायीकरण, तरकारी खेती र बजारको व्यवस्था, नयाँ नयाँ शहरको विकास गद्र्रै गाउँमूख उद्योगहरुमा लगानी गर्न राज्यले प्रोत्साहन दिनु पर्ने देखिन्छ ।
राजनीतिक स्थिरताका लागि आन्दोलनका मोडलहरु परिवर्तन गर्ने र व्यवसायिक आन्दोलनहरु एक गाविस एक उत्पादन जस्ता सबालहरुलाई प्राथमिकता दिनु पर्दछ । गाविसको बजेटलाई कृषि करण गर्दै पर्यटनमूखी कृषि उत्पादन गर्न सकेमा मधेसका समस्याहरु आफै समाधान हुदै जान्छन् । राजनीतिक समाधानले मात्र मधेसको समस्याको सम्बोध हुन सक्दैन ।

(लेखक महेन्द्र मोरङ् आदर्श बहूमूखी क्याम्पसको उपप्राध्यापक हुनुहुन्छ । )