मा.वि. खुरहुरियाका विद्यार्थीहरु तयारी कक्षाबाट वञ्चित
श्यामसुन्दर यादव
राजविराज, ११ चैत्र । निरन्तरको बन्द हडतालका कारण एसएलसी परीक्षा दिने विद्यार्थीहरुको पठन–पाठन प्रभावित भएको भन्दै सप्तरीमा सञ्चालन गरिएको रेडियो कक्षाको प्रभाव भने जनता माध्यमिक विद्यालयमा पर्न सकेको छैन ।
सेभ द चिल्ड्रेनको सहयोगमा जिल्ला शिक्षा कार्यालयले सञ्चालन गरेको ६ हप्ते रेडियो कार्यक्रमको प्रभाव पर्न नसकेको हो । सहयोगात्मक सिकाई परियोजना अन्तर्गत सप्तरीको सिएफएम, चन्द्रमा, जय मधेश र सखी एफएमबाट प्रसारण गरिएको रेडियो कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त रेडियो कार्यक्रममा नेपाली, अङ्ग्रेजी, विज्ञान, गणित र सामाजिक विषयको कक्षा सञ्चालन गरिएको थियो । यद्यपी उक्त रेडियो कार्यक्रमको विषयमा शिक्षकहरु आफैं अनभिज्ञता प्रकट गर्छन् ।
फाल्गुन १ गतेदेखि रेडियोहरुबाट प्रसारण गरिएको उक्त कार्यक्रमबारे आफूहरुलाई केही जानकारी नभएको जनता माध्यमिक विद्यालय खुरहुरियाका विज्ञान शिक्षक भूपेन्द्र कुमार साहले बताए । ‘कहिले कार्यक्रम सञ्चालन भयो र कहिले सकियो केही थाहा भएन’ समाचार संकलन गर्न विद्यालय पुगेका पत्रकारसँग प्रतिप्रश्न गर्दै उनले भने ‘हामीलाई यो विषयमा कसैले जानकारी दिएको छैन, त्यो कार्यक्रमसँग हामीलाई के मतलब ?
कुल १ सय २९ छात्र र ७५ छात्रासमेत गरी २ सय चार जना विद्यार्थीहरु एसएलसी परीक्षा दिन लागेको उक्त विद्यालयका अङ्ग्रेजी र विज्ञान विषयका शिक्षक महिनारायण यादवले भने एसएलसी परीक्षा दिन लागेका विद्यार्थीहरुलाई लक्षित गरी रेडियोबाट कार्यक्रम सञ्चालन भएको कुरा आफूले सुनेको बताए । रेडियोबाट प्रसारण भइरहेको समयमा विद्युत नरहने गरेको तथा विद्यालयहरुमा रेडियो समेत नहुँदा कार्यक्रम प्रभावित भएको स्वीकार गर्दै उनले भने ‘हामीले विद्यार्थीहरुलाई औपचारिक रुपमा केही भनेनौं, रुची राखेका विद्यार्थीहरुले कार्यक्रम सुनेका पनि होलान् तर हामीलाई यस केही जानकारी नभएकोले खासै चासो पनि राखेनौं ।’ कार्यक्रम अनिवार्य रुपमा विद्यार्थीहरुलाई सुन्नुपर्ने तथा समयमै अनुगमन भईदिएको भए प्रभावकारी हुनसक्ने सम्भावना रहे पनि अब समय शेष भईसकेकोले यतिबेला चाहेर पनि केही गर्न नसक्ने अवस्था रहेको शिक्षक यादवको भनाई छ ।
विद्यालयमा अध्ययनरत छात्र–छात्राहरुले भने आफूहरुलाई कार्यक्रमको विषयमा केही जानकारी नगराएकोले खासै चासो नराखेको बताए । नाम सार्वजनिक नगरिदिने शर्तमा एसएलसी परीक्षामा सहभागी हुन लागेका एक विद्यार्थीले भने ‘एसएलसी तयारी कक्षा कार्यक्रम रेडियोबाट सञ्चालन भईरहेकोले नियमित सुन्नुपर्ने तथा नबुझेका कुरा सम्वन्धित विषयसँगको छलफलमा सोध्नुपर्ने सुविधा रहे पनि हामीले त्यो सेवाको उपभोग गर्न पाएनौं ।
सेभ द चिल्ड्रेनले सहयोगात्मक सिकाई परियोजना अन्तर्गत ३८ लाख २७ हजार ५५ रुपैयाँ खर्च गरेको छ । जसमध्ये माध्यमिक तह सञ्चालनमा रहेका जिल्लाका ७६ ओटा विद्यालयका प्राथमिक शिक्षकहरुलाई सिकाई सम्बन्धि तालिम दिईएको तथा उनीहरुमार्फत पनि रेडियो कार्यक्रमबारे विद्यालयलाई जानकारी गराएको सेभ द चिल्ड्रेनका एजुकेसनल अफिसर सञ्जीव साहले जानकारी दिए । उनका अनुसार श्रोतकेन्द्रहरुको बैठकमा समेत प्रधानाध्यापकहरुलाई एसएलसी तयारी कक्षाबारे जानकारी गराएको छ । कार्यक्रम सञ्चालित एफएमहरुबाट समेत कार्यक्रमबारे प्रोमो (प्रचार) गरिएको अफिसर साहले बताए । चार ओटा एफएमबाट कार्यक्रम प्रशारणकालागि कुल एक लाख ८९ हजार रुपैयाँ खर्च गरिएको छ ।
यता जिल्ला शिक्षा कार्यालय सप्तरीका अधिकृत भोगेन्द्र यादवले आफूहरुले रेडियो कार्यक्रमबारे प्रत्येक सामुदायिक विद्यालयलाई जानकारी गराएको बताए । शिक्षा कार्यालयले गर्नुपर्ने दायित्व आफूहरुले पूरा गरेको बताउँदै उनले भने ‘रेडियो कार्यक्रमबारे आएको गुनासोलाई हामीले गम्भीर रुपमा लिएका छौं । रेडियो कार्यक्रमलाई प्रभावकारी बनाउनकालागि शिक्षा कार्यालयले खासै नदेखाएको वुद्धिजिवीवर्गको गुनासो छ ।
विद्यालयलाई के हुन्छ ?
सेभ द चिल्ड्रेनको सहयोग तथा जिल्ला शिक्षा कार्यालय सप्तरीको समन्वयमा एसएलसी परीक्षामा सहभागी हुन लागेका विद्यार्थीहरुकालागि ६ हप्ते रेडियो कार्यक्रम प्रशारण गरिएको थियो । उक्त कार्यक्रम विद्यार्थीहरुलाई सुन्न लगाई विषय शिक्षकसँग छलफल गर्ने प्रावधान रहेको थियो । यद्यपी जनता माध्यमिक विद्यालय जस्तै अधिकांश विद्यालयहरुमा भने सम्पर्क र समन्वयको अभावमा कार्यक्रम प्रभावहिन बन्न पुगेको छ ।
कार्यक्रम सुन्ने विद्यार्थीहरुकालागि चार जना विषय शिक्षकले रेडियोमा सुनेको कुरा नबुझेमा वा छलफल गर्न हप्तामा २ दिन समय दिनुपर्ने प्रावधान तोकिएको छ । विद्यार्थीहरुको जिज्ञासा समाधान गरे वापत प्रत्येक दिनको २ सय रुपैयाँ सुविधा दिईएको सेभ द चिल्ड्रेनका एजुकेसनल अफिसर सञ्जीव साहले जानकारी दिए ।
उनका अनुसार तोकिएको सुविधा प्राप्त गर्न कम्तिमा ७५ प्रति विद्यार्थीले सहभागिता
जनाएको हस्ताक्षर तथा १२ ओटा माइन्युटलगायतका अन्य डकुमेन्टहरु पेश गर्नुपर्ने हुन्छ । आधार प्रमाण पेश नगर्ने विद्यालयको रकम निकासा नहुने सेभ द चिल्ड्रेनका एजुकेसनल अफिसर साहले जानकारी दिए ।