• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सदभावना अध्यक्ष महतोले भने ‘अभी नही तो कभी नही’

सदभावना अध्यक्ष महतोले भने ‘अभी नही तो कभी नही’

सदभावना पार्टीमा पुर्वमन्त्रीसहित साढे पाँच हजारको प्रवेश

राजविराज, ८ चैत्र । सदभावना पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले संविधानमा मधेशी जनताको हरेक निकायमा बराबरी हकको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।
सप्तरी सदरमुकाम राजविराज स्थित गजेन्द्र चौकमा सोमवार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । विगत ६ महिनाको सशक्त आन्दोलनका कारण आमजनताको जनजीवन अति कष्टकर बन्न पुगेका कारण जनताकै आग्रहमा आन्दोलनको स्वरुप परिवर्तन गरिएको बताउँदै उनले भने ‘कांग्रेस, एमाले र एमाओवादीले मधेशी जनताका बीच आन्दोलनबाट केही नपाएको भन्दै भ्रम छर्ने काम गरिरहेको छ, त्यस्तो भ्रममा नपरौं संविधान संशोधन गरेर मधेशी जनताको हरेक निकायमा बराबरीको हक नभएसम्म आन्दोलन चलिरहन्छ ।’
व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका लगायत राज्यको हरेक अङ्गहरुमा मधेशी जनताको हक अधिकारको सुनिश्चितता हुनुपर्नेमा उनले जोड दिए । ‘मधशी जनताले राज्यको हरेक अङ्गमा बराबरीको हिस्सा खोजेको छ’ उनले भने ‘शासकवर्गले हामीमाथि बेइमानी गर्दैआएकोले हाम्रो आन्दोलन त्यस्ता बेइमान सैतानहरु विरुद्धको आन्दोलन हो, अभी नही तो कभी नही ।’
जारी मधेश आन्दोलन पहाडि समुदाय विरुद्ध नभएको प्रष्ट पार्दै मधेशी जनतालाई दास बनाएर राख्न खोज्ने शासकवर्ग विरुद्धको आन्दोलन भएको अध्यक्ष महतोले बताए । ‘मधेशमा वर्षौंदेखि बसोबास गर्दै आएका पहाडि समुदाय र भूमीपुत्र मधेशीहरु बीचको सम्बन्ध सामाजिक रुपमै प्रगाढ रहँदैआएको छ’ उनले भने ‘मधेशमा बस्ने पहाडि समुदायप्रति हाम्रो उच्च सम्मान छ तर उनीहरु पनि मधेश र मधेशी जनताको सहयात्री बनोस् ।’
चैत्र पछि हुन लागेको सशक्त आन्दोलनमा आ–आफ्नो स्थानबाट सक्रियताकासाथ गाउँ–गाउँबाट सहभागिता जनाउन समेत आम मधेशी जनसमुदायसँग आग्रह गरे । मधेशी जनता जागिसकेको भन्दै आफ्नो हक अधिकार प्राप्त नभएसम्म कुनै पनि हालतमा आन्दोलन नरोकिने र यो आन्दोलनलाई कसैले चाहेर पनि रोक्न नसकिने नेता महतोले दावी गरे ।
सोही कार्यक्रममा सद्भावना पार्टीका वरिष्ठ नेता बद्री प्रसाद मण्डल मधेशी जनतासँग प्रमुख तीन ठूला पार्टीहरुले ठग्ने काम गरेको भन्दै त्यस्ता पार्टीको पछि नलाग्न आग्रह गरे । ठूला पार्टीहरुले अहिले पनि मधेशमाथि आफ्ना शासन कायम राखी मधेशी जनतालाई दास बनाउन खोजेको उनले बताए ।
हरेराम यादवद्वारा सञ्चालित कार्यक्रममा सदभावना पार्टीका उपाध्यक्ष नवल किशोर साह ‘रामबाबु’, पूर्व मन्त्री समेत रही सकेका नेता मृगेन्द्र कुमार सिंह यादव, केन्द्रीय सदस्य अमरनाथ मण्डल, किसान मञ्चका महासचिव अमरकान्त झालगायतले सम्बोधन गरे । सोही अवसरमा पूर्व मन्त्री यादव, नेता सत्यनारायण यादव, पूर्व गाविस अध्यक्षहरु मुसहरु यादव, महन्थी यादव, जागेश्वर यादव, भूपेन्द्र प्रसाद यादव, धनिकलाल मण्डलसहित साढे पाँच हजार जनाले कांग्रेस, एमाले, एमाओवादीलगायतका पार्टी परित्याग गरी सदभावना पार्टीमा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई अध्यक्ष महतोले फूलको माला र अबीर लगाएर स्वागत गरेका छन् ।