वीरगञ्ज, ८ चैत्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले मधेसमा देखिएको सिमाङ्कन लगायतको समस्याको समाधान वार्ताबाटै गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर–१ को आयोजनामा सोमवार वीरगञ्जमा आयोजित होली मिलन समारोह एवम शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहांले नेपाली कांग्रेसले मधेसको समस्या समाधानको पहल कदमी लिने बताउनु भयो । उहांले आपसी मित्रता र सदभावको पर्व होली सबैले मिलेर मनाउनु पर्ने कुरामा जोड दिंदै होली पर्वको अवसरमा आपसी विवाद, मतमतान्तरलाई त्यागेर सबै एकजुट भई अगाडी बढ्न पार्टी कार्यकर्तालाई आग्रह गर्नु भयो । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर–१ का क्षेत्रिय सभापति विजय सर्राफको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, फरमुल्लाह मन्सुर, सभासद अनिल रुंगटालाई क्षेत्रिय सभापति सर्राफले खादा ओढाई माला र अबिर लगाएर सम्मान गर्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरु, भातृ संगठनका पदाधिकारीहरु, सदस्यहरु, पार्टीका कार्यकर्ता, शुभेच्छुक संस्थाका पदाधिकारीहरु, शुभचिन्तकहरु, संचारकर्मीहरु लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।