राजबिराज, ५ चैत्र । वैदेशिक रोजगारको क्रममा मलेसियामा कबोल गरे अनुसार कम्पनी र काम–दाम तथा सेवा पाउन नसकेका सप्तरीका तीन जना कामदार स्वदेश फिर्ता भएका छन् ।
यसरी फिर्ता हुनेहरुमा सप्तरीको कविलासा गाविस– ५ का भागवत मडर, उपेन्द्र मण्डल र निरेन्द्र मडर रहेका छन् । उनीहरुबाट गत मंसिर १३ स्थानिय ऐजेन्ट मनोज मण्डलले मलेसियाको राम्रो कम्पनीमा होटलको फुड प्याकिङ्ग सम्वन्धि कामकालागि १ लाख ५० हजार लिएका थिए । ईनोभेटिभ सर्भिस म्यानपावर मार्फत मलेसिया पुगेपछि भने अनुसार कम्पनी, तलब र सुबिधा नदिई उनीहरुलाई एउटा होटलमा भाडा मस्काउने काममा लगाईएको थियो । तीनैजना कामदारले आफनो घरमा फोन गरेर कामबारे जानकारी गराएका थिए तर उनीहरुसँग कुनै प्रमाण भने थिएन ।
यता घरपरिवारले ऐजेन्टलाई फोन गर्दा आज–भोली अर्को काममा लगाईदिने भन्दै आलटाल गरिरहेको थियो । ऐजेन्टले आलटाल गर्न थालेपछि घर–परिवारका सदस्यहरुले छिमेकीको सहयोगमा उनीहरुले सुचना तथा परार्मश केन्द्रमा पुगेर जानकारी गराए । सुचना केन्द्रले ऐजेन्टलाई बोलाएर काम परिवर्तन गर्न आग्रह गरे अनुसार अर्को काममा लगाए तापनि त्यो काम भन्दा बढी गाह्रो भएको बताए ।
यो कुरा घरपरिवारमा मनोजले फोन गर्दा जानकारी गराएका थिए, तर उनीहरु फोन गरेको कम्पनी मालिकले थाहा पाएपछि गाली गर्ने, कुट्ने, यातना दिन थालेपछि उनीहरु घर फिर्ताको लागि घरपरिवारमा दवाव दिन थाले । परिवारजनले सुचना तथा परार्मश केन्द्रमा आफनो मान्छे घरफिर्ताको लागि आग्रह गरेपछि केन्द्रले एनसिसि काठमाण्डौको सहयोगमा उनीहरु फाल्गुन २९ गते स्वदेश फिर्ता भएका छन् । म्यानपावरले नै टिकटको पैसा तिरेर उनीहरु सुचना तथा परार्मश केन्द्र राजविराजका परामर्शदाता निता चौधरीले जानकारी दिईन् ।