• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सामाजिक न्यायकालागि मेलमिलापः निर्देशक कर्ण

सामाजिक न्यायकालागि मेलमिलापः निर्देशक कर्ण

राजविराज, ५ चैत्र । माण्डवी परियोजनाका कार्यकारी निर्देशक अधिवक्ता पंकज कर्णले सामाजिक न्यायकालागि मेलमिलाप प्रक्रिया नै उत्तम उपाय भएकोले यसलाई गाउँ–गाउँमा पुर्याउनुपर्ने बताएका छन् ।
सेभ द सप्तरी सप्तरीले शुक्रवार आयोजित सामुदायिक मेलमिलापद्वारा द्वन्द्व वा विवाद न्यूनिकरण कार्यक्रम अन्तर्गत जिल्लास्तरीय वार्षिक समिक्षा गोष्ठिमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि कर्णले गाउँ–घरमा हुने सामान्य विवादहरुलाई मेलमिलाप प्रक्रियाबाट समाधान गरिए अनावश्यक दौडधुप, समयको बचत तथा रकम खर्च हुनबाट जोगिनसक्ने बताए ।
अदालती प्रक्रियाभन्दा पनि छिटो–छरिता न्याय समुदायमै बसेर मेलमिलाप प्रक्रियाबाट विवाद अन्त्य गरेर समाजमा सद्भाव तथा शान्ति स्थापनामा समेत मद्दत मिल्ने सर्वोच्च अदालतका अधिवक्ता कर्णले बताए । मेलमिलाप सम्बन्धि ऐन समेत बनिसकेको चर्चा गर्दै उनले भने ‘मेलमिलाप प्रक्रियालाई गाउँ–गाउँमा पुर्याईए अदालतमा हुने मुद्दाको चाप समेत घट्ने छ ।’
वार्षिक समिक्षा गोष्ठिमा जिल्ला वार एसोसिएसनका अध्यक्ष कृपानारायण यादव, जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झा, जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. काशीनाथ यादव, अधिवक्ता सबिता कोइराला, मधेशी पत्रकार संघ सप्तरीका अध्यक्ष श्यामसुन्दर यादव, गाविस सचिव राजु झा, अधिकारकर्मीहरु उमा पोखरेल, अनिता देवकोटा, संस्थाका सचिव नरेन्द्र यादवलगायतले मेलमिलाप कार्यक्रमलाई विस्तार गर्नुपर्नेमा जोड दिए । सेभ द सप्तरीका अध्यक्ष ध्रुव देवको अध्यक्षतामा आयोजित वार्षिक समिक्षा गोष्ठिमा कार्यक्रम संयोजक गजेन्द्र देवले वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै कुल २८० ओटा विवादमध्ये २६२ ओटा विवाद समाधान भएको जानकारी दिए । जिल्लाको लालापटी, रम्पुरामल्हनिया, बिसहरिया र नर्घोमा मेलमिलाप कार्यक्रम सञ्चालन हुँदैआएको संस्थाकी प्रिया सिंह थारुले बताईन् ।