राजविराज, ३ चैत । विशेष अदालत काठमाडौंको आदेशमा रिहा भएका स्वतन्त्र मधेश गठबन्धनका सप्तरीका संयोजकसहित ६ जनालाई राजविराजमा बुधवार स्वागत गरिएको छ ।
सप्तरी संयोजक सुरेन्द्र मधेशी, सब ईन्जिनियर श्यामसुन्दर मण्डल, मो.उस्मान, सुरेन्द्र मण्डल, नागेश्वर शर्मा र बुधेश्वर मण्डललाई गठबन्धनका स्थानीय नेता तथा समर्थकहरुले स्वागत गरेका हुन् । विशेष अदालत काठमाडौंको आदेशमा २५ हजार रुपैयाँका दरले धरौटी बुझाएर रिहा भएका उनीहरु बुधवार गृह जिल्ला सप्तरी आईपुगेका छन् । उनीहरु बसबाट ओर्लिए लगत्तै अबिर र माला लगाएर स्वागत गर्दै राजविराज नगरपालिका परिक्रमा गराएका थिए ।
सप्तरीको भारदह र राजविराजबाट पक्राउ गरी हिरासतमा राखिएका स्वतन्त्र मधेश गठबन्धनका जिल्ला संयोजक मधेशीसहितका व्यक्तिहरु सोमबार रिहा भएका थिए । पक्राउ परेकाहरुमाथि राज्य विरुद्धको अपराध मुद्दामा सप्तरी प्रहरीले अभियोग पत्र दायर गरेको थियो । उनीहरुलाई सप्तरी प्रहरीले विशेष अदालतबाट म्याद थप गराएर हिरासतमा राख्दैआएका थिए ।
यता भारदह पुगेका स्वराजीहरुलाई त्यहाँ पनि स्वागत गरिएको छ । हातमा गुलाबको फूल लिएर स्वराजीहरु गिरफ्तार गर्ने प्रहरीलाई धन्यवाद ईलाका प्रहरी कार्यालय पुगेका थिए । डियुटीमा रहेका प्रहरीले ईञ्चार्ज बाहिर रहेको बताएपछि उनीहरु फर्किएका थिए ।
