काठमाडौं, २ चैत्र । दैनिक पत्रिका राष्ट्रिय सञ्जालको टोलीले सूचना विभागका नवनियुक्त महानिर्देशक रघुराम विष्टलाई हार्दिक बधाई तथा शुभकामना दिंदै १६ बुँदे ज्ञापन पत्र पेश गरेका छन् ।
सञ्जालका अध्यक्ष जयप्रकाश गुप्ताको नेतृत्वमा गएको टोलीले महानिर्देशक विष्टलाई साना लगानीका पत्रपत्रिका संरक्षण र पत्रकारहरुको हकहितमा काम गर्न अनुरोध गरेका छन् । महानिर्देशक विष्टले ज्ञापन पत्र बुझ्दै आफू साना लगानीका पत्रपत्रिका र पत्रकारहरुको संरक्षणका लागि माथिल्लो निकायसँग पहल गर्ने बताए । उनले लोक कल्याणकारी विज्ञापनलाई डबल गराउन र समानुपातिक विज्ञापनका लागि पनि माथिल्लो निकायमा पहल गर्ने बताए । महानिर्देशक विष्टले आमसञ्चार नीति जारी हुनु अगाडि आफूले सञ्चार मन्त्रालयसँग पहल गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए । देशभरबाट प्रकाशित हुने सबै साना लगानीका पत्र–पत्रिका बचाउनकालागि कुनै कसर बाँकी नराख्ने बताए ।
यसैगरी दैनिक पत्रिका राष्ट्रिय सञ्जालको टोलीले प्रेस काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्कीलाई पनि १६ बुँदे ज्ञापन पत्र पेश गरेका छन् । १६ बुँदे ज्ञापन पत्र पेश गर्ने क्रममा कान्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले पनि साना लगानीका पत्रपत्रिकालाई संरक्षण गर्नका लागि आफूले विगतको समयदेखि नै पहल गर्दै आएको बताए । उनले साना लगानीका पत्रपत्रिकाको अवस्था दयनीय र धरापमा परेकाले आप्mनो तर्फबाट सञ्चार मन्त्रालयमा गएर कुरा उठाउने बताए । उनले साना लगानीका पत्रिकालाई संरक्षण गर्नका लागि समानुपातिक विज्ञापन र लोककल्याणकारी विज्ञापनलाई दोब्बर गराउन पहल गर्ने बताए । साना लगानीका पत्रपत्रिकाका कारण मुलुकमा लोकतन्त्र आएकोले साना लगानीका पत्रिकालाई संरक्षण र संबद्र्धन गर्नुपर्ने काउन्सिलको दायित्व रहेको उनले बताए ।