राजविराज, १ चैत । सप्तरीको भारदह र राजविराजबाट पक्राउ गरी हिरासतमा राखिएका स्वतन्त्र मधेश गठबन्धनका जिल्ला संयोजक सुरेन्द्र मधेशी सोमबार रिहा भएका छन् ।
विशेष अदालत काठमाडौंको आदेशमा २५ हजार रुपैयाँका दरले धरौटी बुझाएर उनीहरु रिहा भएका हुन् । सप्तरी संयोजक मधेशी, सब ईन्जिनियर श्यामसुन्दर मण्डल, मो.उस्मान, सुरेन्द्र मण्डल, नागेश्वर शर्मा र बुधेश्वर मण्डल रिहा भएका छन् ।
पक्राउ परेकाहरुमाथि राज्य विरुद्धको अपराध मुद्दामा सप्तरी प्रहरीले अभियोग पत्र दायर गरेको थियो । हिरासतमा रहेका स्वराजीहरुको बयान पश्चात सोमबार अधिवक्ताहरु सुरेन्द्र महतो, रत्नेश्वर प्रसाद शर्मा, बीरेन्द्र प्रसाद साह र धीरेन्द्र साहले बहस गरेका थिए । अदालतको आदेशमा रिहा भएकाहरुलाई गठबन्धनका समर्थकहरुले स्वागत गरेका छन् । उनीहरुलाई सप्तरी प्रहरीले विशेष अदालतबाट म्याद थप गराएर हिरासतमा राख्दैआएका थिए ।