राजविराज, ३० फागुन । सिंचाई मन्त्री उमेश कुमार यादवले चुरेको क्षति तराई मधेशको लागि दुर्भाग्य भएको भन्दै यसको संरक्षण गर्न सबै पक्षले लागि पर्नुपर्नेमा जोड दिएका छन् ।
सप्तरीको रायपुर गाविस–६ मा आइतवार शास्त्री गौशाला एवम् पशुपालन फर्मको शिलान्यास गर्दै उनले यस्तो कुरा बताएका हुन् । ‘चुरे पानीको श्रोत हो’ मन्त्री यादवले भने ‘यसको बिनास भए तराई मधेशमा मरुभूमीकरणको खतरा निश्चित छ ।’
जल भण्डारको रुपमा रहेको चुरेलाई जोगाउन उनले स्थानीयवासी स्वयम् पनि जागरुक हुनुपर्ने बताए । सतहगत र भूमिगत गरी सिंचाईका दुई विकल्प मात्र रहेको अवस्थामा चुरे विनासले पानीको सतह क्रमशः घट्दै जाने मन्त्री यादवको कथन थियो । उनले नदी नियन्त्रणतर्फ सप्तरीमा साढे ११ करोड बजेट छुट्याएको जानकारी दिँदै महुली तटबन्धकालागि साढे चार करोड र खाँडोकालागि ४ करोड बजेट विनियोजन गरिएको बताए ।
रायपुर निवासी पं. रामकुमार शास्त्रीले निर्माण गर्न लागेको गौशालाको उद्देश्य गाईको संरक्षण गर्नु रहेको भन्दै मन्त्री यादवले यस्तो कार्य धार्मिक, सामाजिक र आर्थिक दृष्टि समेतले महत्वपूर्ण रहेको बताए । पं. रामकुमार शास्त्रीकै अध्यक्षतमा आयोजित कार्यक्रमका प्रमुख अतिथि मन्त्री यादवले गौशाला नजिकै निर्माण गरिने पोखरी निर्माणको कोदालोले खनेर शुभारम्भ समेत गरे ।
कार्यक्रममा मन्त्री यादवलाई माला, अबीर र दोसल्लाले सम्मानित समेत गरिएको थियो । कार्यक्रमको सञ्चालन नागरिक सञ्जाल सप्तरीका संस्थापक सुखराम यादवले गरेका थिए ।