वीरगञ्ज, ३० फागुन । मधेसी जनअधिकार फोरम गणतान्त्रिकका राष्ट्रिय अध्यक्ष राजकिशोर यादवले वर्तमान सरकार र प्रमुख दलहरुले जारी मधेस आन्दोलन सम्बोधनको सट्टा तुहाउने फोहरी खेलमा लागेको आरोप लगाएका छन् ।
वीरगञ्जमा आइतवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो कुरा बताएका हुन् । जारी मधेस आन्दोलनका क्रममा प्रमुख दलहरुले जारी गरेको संबिधान पुनर्लेखन नगरेसम्म आन्दोलन नरोकिने बताउँदै मधेसका जनताहरु पुनः एक पटक निर्णायक आन्दोलनको लागि तयार हुनुपर्ने बताए । वर्तमान संविधान आई.सि.यु. अवस्थामा रहेको भन्दै अधिकार र पहिचानको लागि भइरहेको मधेस आन्दोलनलाई सम्बोधन नगरि सरकार टिकाउनमा मात्र प्रधानमन्त्री लागेको बताए ।
सात दलिय संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता समेत रहेका यादवले मोर्चा भित्रका ठुला नेताहरु समेत निर्वाचन क्षेत्रलाई ध्यान नदिई सम्रग मधेसलाई केन्द्र बिन्दु बनाई अन्तिम लडाईमा ध्यान केन्द्रित गर्न आग्रह गरे । सरकारले वार्ताको नाममा नौटंकी मात्र गरिरहेको बताउदै तराई मधेसमा मधेस बिरोधी पार्टीहरुले सभा–सम्मेलनको नाउमा आन्दोलन तुहाउने र साम्प्रदायिकता फैलाउने काम गरिरहेको बताए ।
जारी मधेस आन्दोलनको क्रममा शहीद भएका एवं घाइते भएकाहरुको रगतको कुर्वानी खेर जान नदिने गणतान्त्रिकका अध्यक्ष यादवले बताए । उक्त अवसरमा फोरम गणतान्त्रिकका केन्द्रीय सदस्य संजय यादव, पर्सा जिल्ला अध्यक्ष मुस्तकिम अंसारी, उपाध्यक्ष नुरु आलम अंसारीलगायतको उपस्थिती रहेको थियो ।