राजविराज, २९ फागुन । प्रगतिशिल साहित्यकार राजेश विद्रोहीलाई मातृशोक परेको छ ।
सप्तरीको पन्सेरा–९ निवासी साहित्यकार विद्रोहीकी ७२ वर्षीया आमा कमलीदेवी रामको बिहीबार साँझ निधन भएको हो । विगत २५ वर्षदेखि विरामी राम अन्तिम समयमा दुबै फोक्सोमा प्वाल, पित्त थैलीमा पत्थर, निमोनिया, लिभर किडनीमा समस्या, पेटमा पानी जमेकोलगायत रोगबाट ग्रसित थिइन् । मृतकका श्रीमान, दुई छोरा, तीन छोरी छन् ।
मृतकको शुक्रबार पंसेरा ९ स्थित चापिन खोलामा दाह संस्कार गरिएको छ । दाह संस्कारमा सगरमाथा साहित्य परिषद्का अध्यक्ष मनोहर कुमार पोखरेल र सचिव नन्दलाल आचार्य समेतका साहित्यकारहरुले अन्तिम श्रद्धाञ्जली दिएका छन् ।
कार्य समिति सदस्य विद्रोहीकी आमाको निधनप्रति सगरमाथा साहित्य परिषद् सप्तरीले हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । अध्यक्ष पोखरेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा दिवंगतप्रति चीर शान्तिको कामना गर्दै श्रद्धा सुमन अर्पण गरिएको छ । यस दुःखद घडीमा सम्पूर्ण परिवारजनप्रति धैर्यधारणको कामना गर्दै दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गरिएको जारी विज्ञप्तिमा जनाइएको छ ।