• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

महाशिवरात्रीको अवसरमा देशैभरिका शिवालयहरुमा भक्तजनको घुइँचो

महाशिवरात्रीको अवसरमा देशैभरिका शिवालयहरुमा भक्तजनको घुइँचो

राजविराज, २४ फागुन । महाशिवरात्री पर्वका अवसरमा मंगलबार भक्तजनहरुले सप्तरीका विभिन्न शिवालयहरुमा भव्य पूजाआजा गरेका छन् ।
राजविराजस्थित हरिनन्देश्वर महादेव, शम्भुनाथ नगरपालिकाको शम्भुनाथ मन्दिर, बलुवाको भजनेश्वर महादेव मन्दिर, महदेवाको अंकुरी महादेव मन्दिर, लालापट्टीको लालेश्वरनाथ मन्दिर लगायतका शिवालयहरुमा हजारौ भक्तजनहरुले पूजा आजा गरेका हुन् ।
पूजा गर्नकालागि एकाबिहानदेखि भक्तजनहरुको घुँइचो लागेको छ । पच्चीस किलोमिटर टाढा रहेको सप्तकोशी नदीबाट मंगलबार बिहानै जल ल्याएर चढाइएको हरिनन्देश्वर महादेव मन्दिरका मुल पुजारी राजेश्वर भारतीले बताए । उनका अनुसार शिवरात्रीको एकदिन अगाडीनै सप्तकोशी पुगेर भक्तजनहरुले मध्य रातमा जल उठाई राजविराज ल्याएका थिए ।
भक्तजनहरुलाई सुविधाको लागि विभिन्न संघ–संस्थाहरुले दुध, गंगाजल, बेलपत्र, पूजा सामग्री निःशुल्क उपलब्ध गराएका छन् । भक्तजनहरुलाई दर्शनकालागि पंक्तिबद्ध भई मन्दिर प्रवेश गराउनुका साथै सुरक्षाकालागि आवश्यक प्रहरी समेत परिचालन गरिएको थियो ।
यसैगरी वीरगञ्जस्थित अलखियामठ शिवालय, रौतहटको शिवनगर, काठमाण्डौको पशुपतिनाथ मन्दिर, पर्साको भाठा, लगायत देशभरीका मन्दिरहरुमा पूजा आजा गर्न  दर्शनार्थीहरूको भीड लागेको छ । गहवामाई मन्दिर परिसरमा रहेको शिव मन्दिरमा पनि पूजा गर्न आउने दर्शनार्थीहरुको घुइँचो लागेको छ । विहान ४ बजेदेखि नै श्रद्धालु भक्तजन र दर्शनार्थीहरूको भीड लाग्ने गरेकोमा माइस्थान मन्दिरको मूख्य चोकमै फिल्म सुटिङको टोलीले गीत छायांकन गर्ने भनि बाटो नै अवरुद्ध हुने गरी पूजा गर्ने मूख्य समयमै श्रद्धालुहरूले सास्ती खेप्नु परेको थियो ।