राजविराज, २३ फागुन । सप्तरीको देउरी भरुवा गाविस वडा नम्वर–१ आइतवार अपरान्ह म्याजिक भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ भने १३ जना घाइते भएका छन् ।
राजविराज–हनुमाननगर सडकखण्डमा म्याजिक भ्यान दुर्घटनामा परि म्याजिकका चालक सप्तरीको बभनगामा कट्टी निवासी २८ वर्षिय रामानन्द मण्डलको मृत्यू भएको हो । राजविराजबाट सकरपुराकालागि जन्ती लिन गइरहेको ना ३ ख ५०५५ नम्वरको बसमा को १ ज १५५१ नम्वरको म्याजिक ठोक्किँदा म्याजिकका चालक मण्डलको तत्कालै घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ । 
सोही म्याजिकमा सवार मधवापुर–९ का ४५ वर्षिय भगवती कौगडिया, १ नम्वर योगिनियाका–६ का ३५ वर्षिय बलराम मण्डल, भारदह–१ का ४५ वर्षिय विपिन कर्ण, बनरझुलाका २० वर्षिय रामबिनय मुखिया, मधवापुर–३ का ४० वर्षिय ओमप्रकाश देव, राजविराज–९ का ४५ वर्षिय अन्नपूर्ण देव, फत्तेपुरका २० वर्षिय दिपेन्द्र साह घाइते भएका छन् । यसैगरी १ नम्वर योगिनिया ज्ञानधर मण्डल, सडेपार–४ का ५५ वर्षिय खटर मण्डल, कञ्चनपुर–८ का चन्दन सुनरैत, बेल्हीचपेना–६ का शिवनारायण मण्डल र फर्सैठ–५ का बिन्दा शर्मा घाइते भएका छन् । 
घाइतेहरुको राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुमध्ये १ नम्वर योगिनियाका–६ का ३५ वर्षिय बलराम मण्डल र भारदह–१ का ४५ वर्षिय विपिन कर्णलाई थप उपचारकोलागि विपी कोइराला स्वास्थ्य विज्ञान धरान पठाईएको छ । 



