राजविराज, २२ फागुन । सिंचाई मन्त्री उमेश कुमार यादवले सिंचाईको अभावमा खेतीयोग्य जग्गा बाँझो नरहोस भन्ने उद्देश्यले बिभिन्न योजनाहरु सञ्चालन गरेको बताएका छन् ।
सप्तरीको पातो गाविस–८ मा शहिदहरुको स्मृतिमा निर्माण हुने शहिद गेटको शिलान्यास पश्चात एकिकृत नेकपा माओवादी सप्तरी क्षेत्र नम्बर ४ द्वारा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले आफु मन्त्री भएदेखि नै किसानको समस्या समाधानको योजना बनाएर काम गरिरहेको बताए । मन्त्रालयले ‘सम्बृद्ध तराई मधेश सिंचाई बिशेष कार्यक्रम र जलउत्पन्न तथा नदी नियन्त्रण लगायतका कार्यक्रमहरु सञ्चालन गरेको बताउँदै मन्त्री यादवले नदी नियन्त्रणको कामसँगै सडक निर्माणलाई पनि प्राथमिकता दिईने बताए ।
खाँडो, बलान र पश्चिम राप्ती नदी नियन्त्रणका लागि भारतलाई प्रस्ताव गरिसकिएको जानकारी दिनुहुँदै उहाँले सुनसरीको चतरामा ब्यारेज निर्माणको कार्य समेत प्रारम्भ गरिसकेको जानकारी दिए । सप्तरीमा हालै घोषणा गरिएको सिंचाईयुक्त गाविस र नगरपालिकामा ३६५ दिन नै सिंचाई रहने हुँदा त्यसका लागि बिशेष प्याकेज दिन जिल्लास्थित सम्बन्धित कार्यालय प्रमुखहरुलाई निर्देशन दिईएको उनले बताए ।
पातो गाविसका सचिव बिनोद कुमार ठाकुरको अध्यक्षतामा आयोजित कार्यक्रममा स्थानिय समाजसेवी ओमप्रकाश यादव, पुर्व जिविस सदस्य हरिसुदन यादव, स्थानिय बुद्धिजवी सत्यनारायण यादव, राजलाल पण्डित लगायतले सिंचाईको व्यवस्था गर्न आग्रह गरे । सो अवसरमा जनयुद्धकालमा सहादत प्राप्त गरेका बिजली यादव, राजेन्द्र राम, कमलदेव यादव र रामबिलाश राम लगायतका शहिदका परिवारजलाई मन्त्री यादवले दोसल्ला ओढाएर सम्मान गरे ।
यसअघि मन्त्री यादवले एक गाउँ दुई पोखरीको अबधारणा अनुसार जिल्लाको नर्घाे गाविसस्थित अनहरी पोखरीको जिर्णाेद्धार कार्यको उद्घाटन गरे । मन्त्री यादवले सप्तरीको प्रसवनी, सितापुर, नर्घाे, फकिरा लगायतका गाविसका पार्टीका नेता कार्यकर्ता, स्थानिय किसान, शहिद परिवार लगायतसँग भेटघाट तथा अन्तरक्रिया गरे ।