राजविराज, २२ फागुन । संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिका केन्द्रीय प्रवक्ता बलराम यादवले मधेशमुक्तिको आन्दोलनलाई निर्णायक बनाउन सशस्त्र र निशस्त्र दुवै सङ्गठनहरु बीच कार्यगत एकता हुनुपर्नेमा जोड दिएका छन् ।
आन्दोलन समितिद्वारा शनिवार सप्तरीको रुपनी बजारमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । जारी मधेश आन्दोलन नेताहरुको अदुरदर्षिताका कारण निष्कर्ष विहिन बनेको चर्चा गर्दैै प्रवक्ता यादवले भने ‘मधेशमुक्तिको आन्दोलनलाई निर्णायक बनाउन सशस्त्र र निशस्त्र दुवै सङ्गठनहरु बीच कार्यगत एकता हुनु आवश्यक छ ।’
मधेशी जनतालाई अधिकार विहिन बनाउन विरोधी शक्तिहरु एकजुट भईसकेको तर मधेशवादी पार्टीहरु बीच मोर्चाबन्दी हुन नसकेकोमा असन्तुष्टि व्यक्त गर्दै मधेशको एजेण्डामा सशस्त्र र निशस्त्र शक्ति बीच एकता प्रक्रियालाई सशक्त रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘मधेश राष्ट्रियता हो भन्ने कुरा जारी मधेश आन्दोलनले स्थापित गरिसकेको छ’ प्रवक्ता यादवले भने ‘सहीदहरुको बलिदानीलाई खेर जान नदिन सम्पूर्ण मधेशवादी दलका नेताहरुले व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नु जरुरी छ ।’
कार्यक्रममा समितिका केन्द्रीय सदस्य महेश कुमार यादवले मधेश आन्दोलनलाई उपलब्धीमूलक बनाउन निर्णायक आन्दोलन गर्नुपर्नेमा जोड दिनुपर्नेमा जोड दिए । जिल्ला संयोजक रामगमन साहको अध्यक्षतामा आयोजित सभामा केन्द्रीय सदस्य भुलाई राम, छेदी यादव, जयप्रकाश यादव, जिल्ला प्रवक्ता भगवती यादव, सचिव तुफान मधेशी, सुभाषचन्द्र बोस, प्रभुनारायण यादवलगायतले सम्बोधन गरे ।
मधेशी राष्ट्रियता बचाउनकालागि समितिद्वारा बृहत मोटरसाइकल र्यालीको आयोजना गरियो । मोटरसाइकल र्याली राजविराज, हनुमाननगर, भारदह, कञ्चनपुरहुँदै रुपनी पुगेर सभामा परिणत भएको थियो । जिल्लाका विभिन्न बजारहरुमा पुगेर सभाको आयोजना गरिएको थियो । त्यसक्रममा स्थानीय मधेशी मोर्चाका नेताहरुले र्यालीलाई स्वागत गरेका थिए ।