राजविराज, २१ फागुन । शान्तिपूर्ण र्याली प्रदर्शनका क्रममा गत फागुन ९ गते पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका तीन स्वराजी अदालतको आदेशमा शुक्रवार रिहा भएका छन् ।
जिल्ला प्रहरी कार्यालय राजविराजले हिरासतमा राखेका मलेकपुर गाविस–६ खुरहुरियाका अनिल कुमार ठाकुर, भारदह–५ का लालविहारी साह, र कटैया– ६ का महेश शर्मा पुनरावेदन अदालत राजविराजको आदेशमा रिहा भएका हुन् । पक्राउ परेकाहरुलाई रिहाईको माग उनीहरुको तर्फबाट सप्तरीको फर्सैठ–६ का चन्द्रनारायण यादवले अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।
स्वराजीहरुको तर्फबाट अधिवक्ता महेन्द्र प्रसाद चौधरी, रामजी साह, नवीन सिंहलगायतका कानूनव्यवसायीहरुले बहस गरेका थिए । रिहा भएकाहरुलाई गठबन्धनका स्थानीय अभियन्ताहरुले स्वागत गरेका छन् ।
प्रहरी हिरासतमा रहेका गठबन्धनका संयोजक सुरेन्द्र मधेशी, मो. उस्मान र बुधेश्वर मण्डललाई राज्य विरुद्धको अपराध मुद्दामा गत मङ्गलवार विशेष अदालत काठमाण्डौंबाट अनुसन्धानकालागि १२ दिनको म्याद थप गराई हिरासतमै राखिएको छ । भारदह स्थित वि.पी. माध्यमिक विद्यालयमा गठबन्धनद्वारा फागुन ९ गते आयोजित कार्यक्रम स्थलबाट प्रहरीले पक्राउ गरेका सब–इञ्जिनियर श्यामसुन्दर मण्डल, भोगेन्द्र शर्मा र सुरेन्द्र मण्डललाई समेत सोमवार विशेष अदालतबाट १२ दिनको म्याद थप गराई हिरासतमा राखिएको छ । 