राजविराज, १९ फागुन । प्रहरी हिरासतमा रहेका स्वतन्त्र मधेश गठबन्धनका सप्तरी संयोजक सुरेन्द्र मधेशीसहितका स्वराजीहरुको विशेष अदालतबाट १२ दिनको म्याद थप गरिएको छ ।
आफ्ना सहकर्मीहरुको रिहाईको माग गर्दै शान्तिपूर्ण जुलुस प्रदर्शनका क्रममा सप्तरी प्रहरीले पक्राउ गरेकाहरुको बुधवार विशेष अदालत काठमाण्डौबाट म्याद थप गराईको हो । मङ्गलवार राती काठमाण्डौ लगिएका संयोजक सुरेन्द्र मधेशी, मो. उस्मान र बुधेश्वर मण्डललाई राज्य विरुद्धको अपराध मुद्दामा अनुसन्धानकालागि १२ दिनको म्याद थप गरेको जनाईएको छ ।
भारदह स्थित वि.पी. माध्यमिक विद्यालयमा गठबन्धनद्वारा फागुन ९ गते आयोजित कार्यक्रम स्थलबाट प्रहरीले पक्राउ गरेका सब–इञ्जिनियर श्यामसुन्दर मण्डल, भोगेन्द्र शर्मा र सुरेन्द्र मण्डललाई समेत सोमवार विशेष अदालतबाट १२ दिनको म्याद थप गरेको छ । पक्राउ परेकाहरुमध्ये ६ जनालाई यस अघि पनि विशेष अदालतले १० दिनको म्याद थप गरेको थियो ।
गठबन्धनका सदस्यहरु बिहारीलाल साह र अनिल ठाकुरलाई भने अनुसन्धानकालागि राजविराज स्थित जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।