राजविराज, १९ फागुन । सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा लक्षचण्डी रुद्र महायज्ञकालागि ध्वजारोहण एवम् भूमी पूजन आगामी चैत्र २६ गते हुने भएको छ ।
राजविराज स्थित मधेशी पत्रकार संघ सप्तरीको कार्यालयमा बुधवार आयोजित पत्रकार सम्मेलनमार्फत शक्तिपीठका पीठाधीश महाकान्त ठाकुरले यस्तो जानकारी दिएका हुन् । चैते नवरात्राको दिन आयोजन हुने ध्वजारोहण एवम् भूमी पूजन कार्यक्रम विशेष समारोहका बीच गरिने उनले बताए ।
२०७१ को चैते दशैंको पहिलो दिनदेखि ध्वजारोहण कार्यक्रमकै दिनदेखि ४ आवृत दुर्गा पाठ नियमित रुपमा सञ्चालन हुँदैआएको तथा प्रत्येक महिना शतचण्डी महायज्ञ सञ्चालन भइरहेको शक्तिपीठका पीठाधीश ठाकुरले जानकारी दिए । शक्तिपीठमा प्राङ्गणमा १३ वर्ष अघि सहश्रचण्डी महायज्ञ आयोजना भएको चर्चा गर्दै पछिल्लो पटक शक्तिपीठमा विश्वमै पाँचौ तथा नेपालमै पहिलो पटक लक्षचण्डी महायज्ञ आयोजना हुन लागेको उनले बताए ।
देशमा दिर्घ शान्ति, दैवीप्रकोप, अतिवृष्टि, सामाजिक सद्भाव, देश तथा विश्व कल्याणार्थ आयोजन हुन लागेको लक्षचण्डी महायज्ञ शुभारम्भ २०७३ को नवरात्राको पहिलो दिनदेखि सञ्चालन गरिने उनले जानकारी दिए । उक्त महायज्ञमा २ सय फिट लामो र २ सय फिट चौडाई भएको यज्ञ मण्डप निर्माण गरिने पीठाधीश ठाकुरले पत्रकारहरुलाई जानकारी दिए ।
लक्षचण्डी महायज्ञमा कुल २१ करोड २५ लाख खर्च हुने बताउँदै उनले भने ‘महायज्ञबाट प्राप्त आम्दानी वेद विद्यालय, धर्मशाला, मन्दिर निर्माण लगायत सामाजिक कार्यमा खर्च गरिनेछ ।’ महायज्ञमा आ–आफ्नो स्थानबाट सहयोग गर्न पीठाधीश ठाकुरले आग्रह गरेका छन् । 