लहान, ११ फागुन । मिथिला स्टुडेन्ट युनियनद्वारा सिरहाको लहानमा बामपन्थी नेता एवम् बरिष्ठ मैथिली साहित्यकार स्व. चन्द्रशेखरलाल कर्ण शेखर’को श्रद्धान्जली सभाको आयोजना गरियो ।
उद्योग बाणिज्य संघको भवनमा युनियनका अध्यक्ष दिनेश रसियाको अध्यक्षता तथा मधेश मिडिया मिसनका अध्यक्ष दिनेश्वर गुप्ताको प्रमुख आतिथ्यमा श्रद्धाञ्जलीसभाको आयोजना गरिएको हो । सभामा बोल्दै पूर्वमन्त्री राजलाल यादबले आफनो गुरु समेत रहेका शेखर एक सच्चा राष्ट्रभक्त नेता भएको चर्चा गरे । निष्ठाको राजनीति गर्ने नेता गुमाउँदा आफू अत्यन्तै दुखी एवम् मर्माहत भएको उनले बताए ।
भारतको मधुवनीबाट श्रद्धाञ्जली सभामा सहभागी दीप नारायण विद्यार्थीले शेखरको योगदानबारे चर्चा गरे । सभामा सञ्चारकर्मी रोन्टर मण्डलले सहित्यकर्मीहरुले कुशल अभिभावक गुमाएको बताए । समग्र एफ एमका सुनिल साहले शेखरको सपनामा ईट थप्ने कार्य मधेशका रेडियोहरुले गरेको प्रष्ट पारे । सभामा अत्यन्त भावुक भएर बोल्दै अर्जुनप्रसाद गुप्ताले नेपालकै इतिहासमा निडड्र नेता गुमाएको बताए ।
अध्यक्ष रसियाले मिथिला स्टूडेन्ट युनियन मैथिली भाषाको विकासका लागि सदैव तत्पर रहेको र यसमा लागेको सबैलाई सम्मान गर्न नचुक्ने तथा शेखरको वार्षिकी हरेक वर्ष मनाउने प्रतिबद्धता गरे । साहित्यकार एवम् मैथिली अभियानी धीरेन्द्र प्रेमर्षि र कुन्दन कर्णले काठमाण्डौबाटै श्रद्धाञ्जली मन्तव्य व्यक्त गरे ।
कार्यक्रम सञ्चालन अनुपम झाले गरिन् । युनियनको तर्फबाट गजेन्द्र गजुर, नारायण मधुशाला, तेजु मैथिल, रितेश मैथिल, हृदय सुमन, गौरी नारायण, अमरेश, गायत्री सिंह, सृजना गजमेर लगायतले साहित्यकार शेखरप्रति श्रद्धाञ्जली अर्पण गरे ।